logo
२०८१ मंसिर ११ मंगलवार



घरमा सिमित सिरुवा तथा जुडशीतल, मेलाहरु स्थगन

खुला |


घरमा सिमित सिरुवा तथा जुडशीतल, मेलाहरु स्थगन


धीरेन्द्रप्रसाद साह

राजविराज,बैशाख २ गते । लकडाउनका कारण यस वर्षको सिरुवा तथा जुडशीतल पर्व परिवारमा सिमित भएको छ । परिवारका सदस्यहरु मिलेर जुडशीतल मनाइएका छन ।

कोरोना भाइरस (कोभिड१९) को संक्रमणबाट बच्न सरकारले जारी राखेको लकडाउनका कारण नयाँ वर्षमा मनाइने सिरुवा र जुडशितल पर्व औपचारिकता मात्र पूरा गरेको छ । प्रत्येक वर्ष बैशाख २ गते पारिवारिक सुख, शान्ति, सुस्वाथ्य तथा दीर्घायुको कामनासहित सप्तरी लगायत तराईका जिल्लाहरुमा सिरुवा तथा जुडशीतल पर्व हर्षाेल्लासका साथ मनाइदै आएका थिए ।

यस सिरुवा पर्वमा आफ्नो कुलदेवताको अगाडी शीतल जल, पुष्प तथा प्रसाद चढाएर प्रसाद ग्रहण गरेका छन । शीतल जल ज्येष्ठ व्यक्ति मान्यजनबाट सबैको टाउकोमा छर्केर आशीर्वाद दिने र दीर्घायुको कामना गरिएको छ । कनिष्ठले ज्येष्ठको खुट्टामा जल चढाइ ढोगेर आशिर्वाद लिने चलन रहेको छ ।

त्यस्तै आफ्नो रूख, बोटबिरुवा, बाटोघाटो, औजार, सवारी साधन समेतमा शीतल जल छर्किने गरिन्छ । यसबाट शान्ति र शीतलतासमेत प्रदान गरिने जन विश्वास रहेको छ । यस पर्वमा आँप चिकुलाको चटनी, सजिवनको तरकारी, बरी, करही, तरुवा, भुजुवा, कचरी, फुलौरी, चिकलौरी, पापड, खाना परिकारमा अनिवार्य बनाइन्छ भने दही, माछा, मासु पनि बनाएर खाने र छिमेक, इष्टमित्रलाई खुवाउने परम्परा रहेको छ ।

लकडाउनका कारण छरछिमेक इष्टमित्रलाई खुवाउने बोलाएको पाइन्न । त्यस्तै सिरुवाको अवसरमा एकाबिहानै युवायुवतीले एकअर्कालाई हिलो, पानी छ्याप्ने तथा विभिन्न सांस्कृतिक कार्यक्रम गरी रमाउने कार्य पनि गरिएको देखिएन ।

चैतको अन्तिम दिन जौको पीठोबाट बनाइएको सत्तु नयाँ वर्षको पहिलो दिन बैशाख १ गते सतु गुड(सख्खर) मिसाएर कुलदेवतालाई चढाउने गरिन्छ । सतु गुड प्रसादको रुपमा प्रत्येक सदस्यले ग्रहण गरिन्छ । यसलाई सतुवाइन पर्व भनिन्छ । चैतमा पकाएको खाना थोरै बासी खाएर मात्र नयाँ वर्षमा पकाएको विभिन्न परिकार सहितको खाना खाने गरिन्छ ।

कृषि संस्कृतिको प्रतीक र स्वास्थ्यसँग सम्बन्धित सिरुवा तथा जुडशीतल पर्व सूर्यको तापबाट आकुलव्याकुल मानवलाई शीतलता प्रदान गर्नु यसको उद्देश्य रहेको छ । तराईमा कृषि प्रधान क्षेत्र भएकाले यहाँ मनाइने चाडपर्वमा कृषि संस्कृतिको सुस्पष्ट प्रभाव प्रतिपादित हुन्छ । जुडशीतल पर्वमा प्रयोग हुने सबै कृषि कर्मबाट उत्पादित उत्पादन हुन्छन् । यस पर्वलाई बैशाखीसमेत भन्ने गरिएको छ ।

मेलाहरु स्थगन

सिरुवा पर्वको अवसरमा एक दिन मात्र बैशाख २ गते राजविराज–१ स्थित राजदेवी मन्दिरमा आयोजना हुने भव्य मेला स्थागन गरेको छ । यसैगरी प्रत्येक वर्ष बैशाख १ गतेदेखि एक महिनसम्म शम्भुनाथ नगरपालिको शम्भुनाथ मन्दिरमा लागने गरेको मेला पनि सो नगरपालिकाले स्थगन गरेको छ । त्यस्तै जिल्लाको राजगढ गाउँपालिका स्थित झौहरी पोखरीमा लाग्ने तीन दिने मेला पनि स्थगन भएको छ ।  यता प्रदेश २ सरकारले प्रदेशको लोकपर्व सिरुवा तथा जुडशीतलको अवसरमा मंगलबार सार्वजनिक विदा समेत दिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?