ध्यान कुलुङ
सङ्खुवासभा, बैशाख २ गते । सिलिचोङ गाउँपालिका १ सिसुवाखोला गाउँपालिकाका राजकुमारी राईले अहिले दैनिक ७ मिटर अल्लोको कपडा बुन्नुहुन्छ । अरु बेला ५ मिटर जत्ती मात्र कपडा बुन्नुहुने राईले लक डाउनको समयमा अहिले ७ मिटरसम्म बुन्दै आउनुभएको हो ।
सिसुवाखोला गाउँका राजकुमारी राई मात्र नभएर लक डाउनको समयमा कपडा बुन्ने महिलाहरुको संख्या बढेको छ । कोरोना भाईरसको संक्रमण पछि सरकारले गरेको लकडाउनको सदुपयोग गर्दै जिल्लाका महिलाहरुले कपडाको उत्पादनलाई तिब्रता दिएका हुन् । लक डाउनको कारण सार्वजनिक र सामुहिक कामहरु ठप्प भएपछि आफ्नै घरमा कपडा उत्पादन गर्दै आएका हुन् । बाहिरको काम नहुँदा घरको काम अन्य परिवारको सदस्यले गर्ने र बुनाकार (कपडा बुन्ने) हरुले विहानदेखि साँझसम्म कपडा मात्र बुन्न पाउँदा ठुलो परिणाममा कपडा बुन्न पाएका हुन् ।
लकडाउन नहुँदा बालबालिकाहरु विद्यालय जाने र आफुहरु समेत अन्य काममा लाग्नु पर्ने हुँदा कपडा बुन्न धेरै समय ननिस्किने सिलिचोङ गाउँपालिकाकै अर्का बुनाकार मनरुपा राईले बताउनुभयो । तर अहिले बाहिरको काम नहुँदा पुग्दो समय भएकोले मनग्गे कपडा बुन्न पाएको राईको भनाई छ । यस क्षेत्रमा खेतबारीका काम बाहेक विकासे आयोजनाहरुमा ज्यालादारीमा काम गर्छन् । लकडाउनको कारण विकास निर्माणको काम पनि ठप्प भएपछि यहाँका नागरिकहरु फुर्सदिला भएका छन् । यो समयमा पुरुषहरुले घरको काम गरेर सिप भएका महिलाहरुलाई कपडा बुन्न समय दिईएको स्थानीय बताउछन् ।
सिलिचोङ गाउँपालिका २ बुधबारेमा कपडा बुन्दै गर्नुभएका आरती राईका अनुसार अहिले अल्लोको कपडा प्रतिमिटर पाँच सय रुपैयाँसम्ममा विक्रि हुँदै आएको छ । यसको मुल्य अल्लोको मात्रामा भर पर्ने उहाँले बताउनुभयो । प्रायजसो सुतिको धागोसँग मिसाएर बुनिने यो कपडामा अल्लोको धागो बढि प्रयोग भए कपडाको मुल्य बढि पर्ने आरती राईले बताउनुभयो । उत्पादनको मात्रा र मुल्य हेर्दा दैनिक तीन हजार रुपैयाँ भन्दा बढी मुल्यको कपडा एक जनाले उत्पादन गर्दै आएका छन् । तर, पछिल्लो समय धागोको मुल्य अत्यन्तै महँगो भएकोले खर्च कटाउँदा आफुहरुलाई त्यत्ति धेरै आमदानी नहुँदे बुनाकारहरु बताउछन् ।
लक डाउनको अवधीमा बुनिएका कपडाहरु विक्रि गर्न नपाएको कपडा उत्पादकहरु बताउछन् । सरकारले आवत जावतमा प्रतिबन्ध लगाएकोले विक्रि गर्न लैजान नसकिएको उनीहरु बताउछन् । यस क्षेत्रमा बुनिएको कपडा स्थानीय ब्यापारीहरु मार्फत नेपाल भित्र र बाहिर विक्रि हुँदै आएको छ ।