डोटी समाचारदाता
डोटी, बैशाख ४ गते । कोराना सङ्क्रमण रोकथामका लागि भारतका फर्किएकाहरुलाइ राखिएका डोटीका विभिन्न स्थानमा स्थापना गरिएका क्वारेन्टाइन खाली भएका छन् । १४ दिन सम्मको क्वारेन्टाइनको बसाइ पश्चात स्वाब परीक्षण र र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) बाट नतिजा नेगेटिभ आए सँगै क्वारेन्टाइनमा राखिएका ब्यक्तिहरु घर पठाइएको छ । क्वारेन्टाइवाट घर पठाइएकाहरुलाइ समुदाय तथा घर परिवारमा अझै साबधानी अपनाउन र सचेत रहन आग्रह गरिएको छ । जिल्लाका बिभिन्न २४ स्थानमा ५ सय ८२ जनाको क्षमताको क्वारेन्टाइन निर्माण गरिएका छन् ।
डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलका अनुसार तेस्रो मुलुक लगायत जिल्ला बाहिरबाट आएका ४ सय ५१ जना क्वारेन्टाइनमा बसेका थिए । लकडाउन पछि भारतबाट आएका ३ सय ५ जना र लकडाउन अगावै बिभिन्न स्थानीय तहहरुले क्वारेन्टाइनमा राखिएकाहरुलाई समेत गरेर ४ सय ५१ जना क्वारेन्टाइनमा बसेका हुन ।
प्रमुख जिल्ला अधिकारी पौडेलले भन्नुभयो, –‘चैत ११ गते लकडाउनन हुनु अगावै पनि कतिपयलाइ स्थानीय तहद्धारा क्वारेन्टाइनमा राखिएको थियो, लकडाउन शुरु भए पछि नेपाल भारत सिमा नाकाबाट नेपाल प्रहरीले स्कटिङ गरेर ल्याएका ३ सय ५ जनालाइ बिभिन्न स्थानीय तहहरुले स्थापना गरेका क्वारेन्टाइनमा राखिएको हो ।’
क्वारेन्टाइनमा राखिएकाहरु माध्ये ३ सय ३० जनाको थ्रोट स्वाब परिक्षण र २ सय ७१ जनाको र्यापिड डाइग्नोस्टक टेष्ट (आरडिटी) गरिएकोमा सबैको ‘रिपोर्ट नेगेटिभ’ आएको छ । क्वारेन्टाइनमा राखिएकाहरुको ब्यवस्थापनको काम स्थानीय तहहरुले गर्दै आएका छन् । जिल्ला अस्पताल डोटीको आइसोलन कक्षमा उपचाररत ६ जनाको स्वाब परिक्षणको रिपोर्ट समेत नेगेटिभ आएको छ ।