अमृतप्रसाद पौडेल
बेनी, बैशाख ४ गते । म्याग्दी जिल्लाका ५ वटा स्थानीय तहले जिल्लाका ४ हजार ४ सय ७९ परिवारलाई झण्डै एक लाख केजी चामल वितरण गरेको छ । अन्नपुर्ण गाउँपालिका बाहेक अन्य ५ स्थानिय तहले ९९ हजार ८ सय ९६ केजी चामल वितरण गरेको छ । एक नगरपालिका र ५ गाउँपालिका रहेको म्याग्दीमा अहिले सम्म अन्नपुर्ण गाउँपालिकाले राहत वितरण गरेको छैन भने अन्य सबैले राहत वितरण जारी राखेका छन् ।
बेनी नगरपालिकाले एकद्वार प्रणालि मार्फत नगरपालिका भित्र राहत वितरणको गरेको छ । बेनी नगरपालिकाले लायन्स क्लबले उपलब्ध गराएको १ हजार ६ सय ७५ केजी चामल र नगरपालिकाको तर्फबाट १९ हजार ३ सय ४६ केजी चामल बितरण गरेको छ । त्यस्तै एक हजार ६ सय १९ केजी नुन, २ हजार २ सय ८१ केजी दाल, १ हजार ४ सय ५६ केजी चीनी, १ हजार पाँच सय ३९ लिटर खाने तेल र २ हजार ९ सय १८ गोटा हात धुने सावुन राहतमा वितरण गरेको छ । नगरपालिकाले हाल सम्म १ हजार १ सय ७० परिवारलाई राहत उपलब्ध गराएको कार्यकारी अधिकृत छवि सुवेदीले बताउनुभएको छ ।
मंगला गाउँपालिकाले १६ हजार ४ सय केजी चामल, १ हजार ७ सय ९० केजी दाल, १ हजार २ सय ४ केजी नुन र चीनी एवम् २ हजार २ सय ७२ गोटा साबुन बितरण गरेको छ । मंगला गाउँपालिकाले आफ्नो क्षेत्रमा रहेका ६ सय १८ परिवारलाई उक्त परिमाणमा सामग्री उपलब्ध गराएको हो ।
त्यस्तै ३ सय ८७ परिवारलाई धवलागिरी गाउँपालिकाले ९ हजार ६ सय ७५ केजी चामल, ५ हजार ८ सय ५ लिटर खाने तेल, ७ सय ७४ केजी नुन र १ हजार १ सय ६१ गोटा साबुन वितरण गरेको गाउँपालिकाकी अध्यक्ष थमसरा पुनले बताउनुभयो । गाउँपालिकाले प्रति ४ जना सम्मको परिवार २५ केजी चामल, ३ गोटासाबुन, २ केजी नुन र डेढ लिटर खाने तेल बितरण गरेको थियो ।
यस्तै मालिका गाउँपालिकाले १ हजार १ सय ७८ परिवारका ४ हजार २ सय ३५ जनालाई ४५ हजार ३ सय केजी चामल वितरण गरेको छ । त्यस्तै १ हजार ७ सय ५० केजी दाल, ३ हजार ५ सय केजी नुन र २ हजार ५ सय लिटर खाने तेल वितरण गरिएको गाउँपालिकाकी उपाध्यक्ष खरमायाँ बिटालुले बताउनुभयो । उपाध्यक्ष बिटालुले गाउँमा तरकारीजन्य उत्पादन हुने र घरेलु घ्यु पनि हुने भएकाले दाल र तेल कम मात्रामा वितरण गरी ३० केजीको दरले चामल उपलब्ध गराएको बताउनु भयो ।
रघुगंगा गाउँपालिकाले ३ सय २६ परिवारलाई ७ हजार ५ सय केजी चामल, ३ सय २६ केजी नुन, ९ सय ७८ केजी दाल र ३ सय २६ लिटर खानेतेल वितरण गरिएको अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । भण्डारीका अनुसार स्थानिय तहका वडाहरुबाट छनौट भएका न्यून आयस्तर भएका परिवारलाई सरकारले तोकेको मापदण्ड भित्र रहेर राहत वितरण गरिएको छ ।