विराटनगर, वैशाख ४ गते । प्रदेशसभाको पाँचौं अधिवेशन अन्त्य भएको छ । बुधबार अपरान्ह बसेको मन्त्रिपरिषद्को बैठकले पाँचौं अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको थियो । सरकारको सिफारिस लगतै प्रदेशप्रमुख सोमनाथ अधिकारीले प्रदेशसभाको पाँचौं अधिवेशन अन्त्य भएको पत्र पठाएपछि बुधबार राति १२ बजेटबाट अधिवेशन अन्त्य भएको हो ।
प्रदेश सरकारले पाँचौ अधिवेशन अन्त्यको निर्णय गर्नु अघि बुधबार दिउँसो प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो । सभामुख प्रदिपकुमार भण्डारी तथा मुख्यमन्त्री शेरधन राईसमेतको उपस्थितिमा भएको बैठले पाँचौ अधिवेशन अन्त्य गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको थियो ।
कोरोना भाइरसको विश्वव्यापी महामारी र त्यसको प्रभावले झण्डै एक महिनादेखि लकडाउनको अवस्था रहेकोले संसद चलाउन सम्भव नरहेको भन्दै अधिवेशन अन्त्य गर्न सुझाव दिएको नेपाली काग्रेंसका प्रमुख सचेतक केदार कार्कीले जानकारी दिनुभयो ।
कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि माघ २३ गतेबाट सुरु भएको प्रदेश सभाको बैठक गत चैत ७ गतेदेखि अनिश्चितकालकालागि स्थगित भएको थियो ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकारले स्थापना गरेको जनसुरक्षा कोषमा १५ करोड रुपैयाँ थप गर्ने निर्णय गरेको छ । कोष स्थापनाको समयमा जम्मा गरेको १० करोड तथा त्यसमा विभिन्न क्षेत्रबाट प्राप्त सहयोगबाट जम्मा भएको रकम सकिएपछि सरकारले १५ करोड रुपैयाँ थप गर्ने निर्णय गरेको हो । प्रदेश सरकारले कोरोना रोकथाम तथा नियन्त्रण र राहतका लागि भन्दै प्रदेशका १३७ स्थानीय तहलाई कोषबाट रकम उपलव्ध गराएको थियो ।
मन्त्रिपरिषद् बैठकले आर्थिक कार्यविधि संशोधन विधेयक अघि बढाउन स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ । कोरोना पहिचान तथा राहत वितरण कार्यविधि पनि स्वीकृत गर्ने र्निे गरेको छ । मन्त्रिपरिषद् बैठकले संघीय सरकारबाट हस्तान्तरण भई आएको पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन समितिको कार्यालय सञ्चालनका लागि बजेट निकासा दिने निर्णय पनि गरेको छ ।
यसैबीच प्रदेश सरकारले क्यान्सर रोगसँग जुधिरहनुभएका विराटनगरका पत्रकार कमल पौडेलको उपचारका लागि ३ लाख रुपैयाँ आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले काठमाण्डौमा रक्त क्यान्सरको उपचार गराइरहनुभएका पत्रकार पौडेललाई सहयोग गर्ने निर्णय गरेको हो । उहाँको उपचारमा झण्डै ३० लाख रुपैयाँ खर्च लाने बताइएको छ ।
पाँचौ अधिवेशनमा एउटा मात्र विधेयक पारित
माघ २३ गतेदेखि सुरु भएको प्रदेशसभाको पाँचौ अधिवेशनबाट एउटा मात्र विधेयक पारित भएको छ । पाँचौ अधिवेशनमा २२ वटा बैठक बसेपनि विधेयक भने एउटा मात्र पारित भएको हो । संसदमा थप दुई वटा विधेयक समितिहरुमा छलफलकै क्रममा थियो भने संसद सचिवालयमा दर्ता भएका अरु तीन वटा विधेयक संसदमा पेशसमेत हुन पाएन ।
सरकारले आवश्यक ठानेको महत्वपूर्ण सात वटा विधेयक पाँचौ अधिवेशनबाट पारित गर्ने तयारी गरेको भएपनि कोरोनाका कारण प्रभावित बनेको हो ।
प्रदेशसभाको पाँचौ अधिवेशनमा जम्मा छ वटा विधेयकहरु संसद सचिवालयमा दर्ता भएका थिए । प्रदेश जनस्वास्थ्यका सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ र प्रदेश स्तरमा फर्म दर्ता, नविकरण र तत् सम्वन्धमा अन्य व्यवस्था गर्न बनेको विधेयक २०७६ समितिमा दफावार छलफलका क्रममा छन् । अरु तीन वटा विधेयकहरु संसदमा पेश हुन पाएन ।
प्रदेशसभा सचिवालयमा बालबालिकाको सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६, प्रदेश वनको सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ र प्रदेश औद्योगिक व्यवसायका सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ दर्ता भएपनि छलफलका लागि सदनमा पेश हुन सकेन ।