राजन रावत
सिमकोट वैशाख ४ गते । बन्दाबन्दी संगै आलु बिक्री बढ्दा किसानहरु खुसी हुनु भएको छ । हवाई यातयात बन्द भएपछि नेपालगंज र सुर्खेतबाट तरकारी आउन छोडेपछि स्थानीय तरकारीका साथै आलुको बिक्री बढेपछि किसानहरु खुसी हुनु भएको हो ।
बिहीबार मात्र दुई क्वीन्टल आलु बिक्री गर्नु भएकी सिमकोट गाउँपालिका वडा नम्बर ५ की बाँचु रावतले आलु बिक्री नहुने चिन्ता भएको बेला आलु राम्रो बिक्री भएको बताउनुभयो । बाहिरबाट तरकारी आउन बन्द नभएको भए आलु बिक्री नहुने भन्दै बन्दाबन्दी कै कारण आलुले बजार पाएको बताउनुभयो । यो सिजनमा हुम्लामा स्थानीय रुपमा उत्पादन हुने अरु तरकारी नपाईने भएपछि पनि आलुको बिक्री बढेको हो । यो बन्दाबन्दीको समयमा आलु मुख्य तरकारी भएको छ । गृन हाउसमा उत्पादन भएको सागले बजार धान्न सक्ने अबस्था छैन । तीन हप्तायता बाहिरबाट तरकारी आउन बन्द भएको छ ।
बिहानै तीन क्वीन्टल आलु बिक्री गर्नु भएकी सिमकोट ५ की कुम्म रोकायाले पनि आलुले बजार पाएको बताउनुभयो । रोकायाले सायद बन्दाबन्दी नभएको भए आफुसंग भएको आलु बिक्री हुन कठिन हुने बताउदै बन्दाबन्दीको सकरात्मक पक्ष स्थानीय उत्पादन बिक्री हुन थालेको बताउनुभयो । घरमा भएको आलु बिक्री गर्न पाउने उहाँहरु दुई जना मात्र नभएर हुम्लामा धेरै छन् । आलुको मुल्य प्रतिकेजी पचास रुपियाँ पर्ने गरेको छ ।
बिक्रीको रुपमा नभए पनि टिप्न सक्नेले बेथे, सिस्नु र फापरको सागको पनि तरकारी खानेछन् । तर अधिकाँस हुम्लाबासी आलुको मात्र तरकारी खान बाध्य हुनु भएको छ । किसानका घरघरमा आलु जमिनमा खल्डो खनेर भण्डारण गरिएको छ । यतिबेला आलु होटेलहरुमा नगए पनि सुरक्षाकर्मी अन्य कर्मचारी, ब्यापारीहरुले किनेर खानु परेको छ ।