प्रेम अधिकारी
पशुपतिनगर(इलाम),बैशाख ४ गते । इलाम अस्पतालमा स्वास्थ्य बीमा मार्फत बिरामीले पाउने औषधिको अभाव हुन थालेको छ । लामो समयको लकडाउनका कारण अस्पतालमा औषधि अभाव भएको हो । सरकारको महत्वकांक्षी योजनाको रुपमा हेरिएको स्वास्थ्य बीमा कार्यक्रम इलाममा सुरुवाती चरणमा निकै प्रभावकारी भएको थियो । तर पछिल्लो समय बीमाको औषधिको अभाव हुँदैै गएपछि यसको प्रभावकारीता समेत घटेको छ । बिमा गरेर नियमित औषधि सेवन गर्ने बिरामीहरु धेरै मर्कामा पर्न थालेका छन् ।
विश्वमा फैलिरहेको महामारी कोरोना भाइरस(कोभिड १९ को संक्रमण पछि गरिएको लकडाउनले गर्दा अहिले सहज रुपमा औषधि नआउँदा अभाव हुँन थालेको इलाम अस्पतालका मेडिकल सुपरीटेण्डेन डाक्टर प्रभु शाहले बताउनु भयो ।
डा. शाहले स्वास्थ्य बीमा बोर्डले समेत अस्पताललाई दिनु पर्ने ९० लाख रुपियाँ भुक्तानी नगर्दा औषधि अभाव भएको जानकारी दिनु भयो । भुत्तानी ढिलो भए पछि औषधि खरिद नगर्दै लकडाउन भएपछि औषधि अभाव भएको जनाईएको छ । बीमा बोर्डबाट अस्पतालको नाममा ४२ लाख रुपियाँको चेक काटिसकेको भएपनि लकडाउनका कारण हालसम्म अस्पतालले चेक प्राप्त गर्न नसकेको स्वास्थ्य बीमा बोर्ड इलामका कार्यालय प्रमुख खेमराज अधिकारीले बताउनुभयो ।
स्वास्थ्य बीमा बोर्डका अनुसारका १ हजार १ सय १८ प्रकारका औषधि बिरामीलाई उपलब्ध गराउनुपर्छ । तर ,अहिले इलाम अस्पतालमा एक÷डेढ सय प्रकारका औषधी मात्र स्टकमा रहेका छन् । सबैभन्दा बढी प्रयोग हुने प्रेसर, मुटु र सुगरको औषधि कम रहेको छ । डा. शाहका अनुसार प्रेसर, मुटु र सुगरका रोगी इलाममा धेरै छन ।
यस्ता रोगका बिरामीले उक्त औषधि नियमीत सेवन गर्नुपर्छ । तर ,अहिले यस औषधिको स्टक अत्यन्त कम रहेकाले धान्न निकै समस्या भएको बताउनुभयो । बीमाको औषधि १३ वटा सप्लायर्सबाट आउने गरेपनि अहिले थोरै सप्लायर्सबाट मात्र औषधी आउन थालेपछि जिल्लामा औषधीको अभाव हुन थालेको अस्पतालका फार्मेसि इन्चार्ज पशुपती चौधरीले बताउनु भयो ।
औषधि सप्लायर्स गर्नेले नै औषधिनभएको जवाफ दिने गरेको उहाँले जानकारी दिनुभयो । यता स्वास्थ्य बीमा बोर्ड इलामका कार्यालय प्रमुख अधिकारीले अस्पताललाई औषधिको रकम भुक्तानी गर्दै आएको भए पनि केहि रकम भुत्तानी गर्न ढिलाई भएको बताउनु भयो ।
उहाले भन्नु भयो ‘ बीमा बोर्डबाट अस्पलाललाई ४२ लाखको चेक काटिसकेको छ तर, लकडाउनका कारण चेक उपलब्ध गराउन सकिएको छैन हामी चाँडै उपलब्ध गराउने प्रयत्नमा छौ ।’
बीमा अन्तर्गतको औषधि अस्पतालले माग गरेको खण्डमा उपलब्ध गराउन सकिने पनि उहाले जानकारी दिनु भयो ।
अस्पतालमा बिशेषज्ञको आधारमा बीमाको औषधिहरु माग हुने गरेको छ । इलाम जिल्लामा ८३ हजार जनाले स्वास्थ्य बिमा गरेका छन । स्वास्थ्य बीमा गरेपछि राहत महसुस गरीरहेका स्थानीयले सबै किसिमको औषधी नपाउदा समस्यामा पर्न थालेको जनाएका छन् ।