logo
२०८१ मंसिर ११ मंगलवार



अत्यावश्यक सामग्रीको अभाव नहोसः मुख्यमन्त्री गुरुङ

खुला |


अत्यावश्यक सामग्रीको अभाव नहोसः मुख्यमन्त्री गुरुङ


चन्द्रप्रकाश शर्मा
पोखरा, बैशाख ४ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिन नदिन गरेको लकडाउनमा अत्यावश्यक सामग्रीको अभाव नहुनेगरी काम गर्न सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री गुरुङले प्रदेशका ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको भिडियो कन्फ्रेन्समा जिल्लामा हुने सबै गतिविधिको जिम्मेवारी प्रमुख जिल्ला अधिकारीमा रहेकाले चुस्त दुरुस्त हुनेगरी काम गर्न निर्देशन दिनुभएको हो ।

गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमित समेत भएकाले कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि प्राथमिकताका साथ काम गर्नुपर्ने भएकाले सोही अनुसार अगाडि बढ्न प्रमुख जिल्ला अधिकारीहरुलार्य निर्देशन दिएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिनुभयो । न्यौपानेका अनुसार मुख्यमन्त्री गुरुङ, आर्थिक योजना मन्त्री किरण गुरुङ, आन्तरिक मामिला मन्त्री हरिबहादुर चुमान, सामाजिक विकास मन्त्री नरदेवी पुनले जिल्लामा भएका गतिवधिका बारेमा प्रमुख जिल्ला अधिकारीहरुसँग जानकारी लिनुभएको थियो ।
भिडियो कन्फ्रेन्सका क्रममा मुख्यमन्त्री गुरुङले सुरक्षा व्यवस्था, राहत तथा उपचारका लागि गण्डकी प्रदेश सरकाले प्रयाप्त मात्रामा उपकरण तथा बजेटको व्यवस्था समेत गरेकाले काम गर्दा कुनै समस्या भए आफूलाई सम्झन आग्रह समेत गर्नुभएको थियो ।

हालसम्म कोरोना तथा आरडिटी परीक्षणको अवस्था, लकडाउनको अवस्था, आइसुलेन्सको प्रभाव, संक्रमितको उपचार र सुरक्षा व्यवस्था सन्तोषजनक रहेको भन्दै गुरुङले सम्भावितहरुको परीक्षणलाई तिव्रता दिनुपर्नेमा जोड दिनुभएको थियो ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सामाजिक दुरी कायम गर्नु प्रमुख दायित्व भएको भन्दै मुख्यमन्त्री गुरुङले सम्भावित व्यक्तिहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउँन आग्रह गर्नुभएको थियो । प्रदेश सरकारले क्वारेन्टाइनमा बस्नेहरुलाई प्रतिदिन ५१० रुपियाँ भत्ता दिने समेत निर्णय गरेकाले विदेशबाट आएका वा संक्रमणको आशंका भएका व्यक्तिहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्नुपर्नेमा जोड दिनुभएको थियो ।

यस्तै कृषकले उत्पादन गरेका कृषिजन्य उत्पादनलाई सहज रुपमा बजारमा आउने वातावरण मिलाउन तथा कृषि तथा पशुजन्य उत्पादनका लागि आवश्यक दाना, मल, बिउको सहज आपूर्ति मिलाउन र कुनै समस्या परेमा प्रदेश सरकारलाई जानकारी गराउन समेत आग्रह गर्नुभएको थियो ।

यस्तै गण्डकी प्रदेशभर अहिलेसम्म बिहीबार बिहानसम्म प्रदेशभर ४२१ वटा नमूना मध्य ४१५ जनाको पिसिआरबाट र तीन हजार १०७ जनाको आरडिटी किटबाट परीक्षण सकिएको छ । विदेशबाट भित्रिएका मध्य बागलुङका ४३ जनाको पिसिआर, एक हजार ७ जनाको आरडिटी, तनहुँका १२ जनाको पिसिआर, ३९२ जनाको आरडिटी, स्याङ्जाका १०१ जनाको पिसिआर, ४३६ जनाको आरडिटी, नवलपुरका २४ जनाको पिसिआर र २०७ जनाको आरडिटी, गोरखाका ५ जनाको पिसिआर, १६० जनाको आरडिटी, कास्कीका १०६ जनाको पिसिआर र ३१९ जनाको आरडिटी, पर्वतका ६८ जनाको पिसिआर, २६५ जनाको आरडिटी, लमजुङका ४४ जनाको पिसिआर, १४९ जनाको आरडिटी, म्याग्दीका ११ जनाको पिसिआर, १३० जनाको आरडिटी, मुस्ताङका ७ जनाको आरडिटी र मनाङका ३ जनाको पिसिआरबाट परीक्षण सकिएको छ ।

संकलन भएको नमूना मध्य नवलपुरको नमूना भरतपुरमा परीक्षण गरिदै आएको र अन्य जिल्लाको नमूना पोखराबाटै हुँदै आएको छ । गण्डकी प्रदेशमा अहिलेसम्म आरडिटीबाट परीक्षण गरिएका मध्य बागलुङ, गोरखा र कास्कीका एक–एक जनामा एन्टीबडी पोजेटिभ देखिएको थियो । आरडिटी टेस्टबाट परीक्षण गर्दा एन्टीबडी पोजेटिभ देखिएका र उनको नजिक रहेकाहरुको पिसिआरबाट पुनः स्वाब परीक्षण गर्नुपर्ने भएकाले सोही अनुसार पिसिआरबाट परीक्षण गर्दा तीनै जनाको रिपोर्ट नेगेटिभ आएको र गोरखाको रिपोर्ट आउने क्रममा रहेको गण्डकी प्रदेश प्रयोगशालाका सपना सवेदीले जानकारी दिनुभयो ।

कास्की समाचारदाता तारा चापागाइका अनुसार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ कोरोना भाइरसको सम्भावित संक्रमितको खोजी, संक्रमण फैलिन नदिने र संक्रमितको उपचारमा गरिरहेको कामका बारेमा जानकारी लिन नियमित फेसबुकबाट प्रत्यक्षरुपमा जनतासँग जोडिनु भएको छ । कार्यालयका काम बाहेक जनताका गुनासा र प्रदेश सरकारले गरेका कामका बारेमा जानकारी दिनका लागि फेसबुकबाट प्रत्यक्षरुपमा जनतासँग जोडिन थाल्नुभएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिनुभयो ।

प्रदेशका हरेक जिललमा कहाँ के भएका छन् भन्ने जानकारी लिँदै जिल्ला जिल्लामा पुग्नु भएको र दिनभर लिएका जानकारीलाई फेसबुकमार्फत प्रत्यक्षरुपमा सबैलाई जानकारी गराउँदै आउनुभएको न्यौपानेले जानकारी दिनुभयो । मुख्यमन्त्री गुरूङले कोरोना संक्रमित बिरामीलाई फोन गरेर उपचारको अवस्था र स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिदै प्रदेश सरकारले उपचारमा कुनै समस्या हुन नदिने प्रतिबद्धता जनाउनुभएको थियो ।

म्याग्दीमा एकलाख केजी चामल बितरण
म्याग्दी समाचारदाता अमृतप्रसाद पौडेलका अनुसार म्याग्दी जिल्लाका ५ वटा स्थानीय तहले जिल्लाका ४ हजार ४ सय ७९ परिवारलाई झण्डै एक लाख केजी चामल वितरण गरेको छ । अन्नपुर्ण गाउँपालिका बाहेक अन्य ५ स्थानीय तहले ९९ हजार ८ सय ९६ केजी चामल वितरण गरेको छ । एक नगरपालिका र ५ गाउँपालिका रहेको म्याग्दीमा अहिलेसम्म अन्नपुर्ण गाउँपालिकाले राहत वितरण गरेको छैन भने अन्य सबैले राहत वितरण जारी राखेका छन् ।

एआरटी सेवा लिने विरामीलाई घरमै औषधी
लमजुङ समाचारदाता बेलिना थापाका अनुसार लमजुङमा एआरटी सेवा लिँदै आएका नागरिकलाई घरमै औषधी पु¥याउने व्यवस्था गरिएको छ । जिल्लाका एचआइभी संक्रमित विरामीलाई लमजुङ जिल्ला सामुदायिक अस्पताल, सामुदायिक हेरचाह केन्द्र लमजुङ, स्वास्थ्य कार्यालय लमजुङको सहकार्यमा संक्रमतिलाई घरमै औषधि पु¥याइएको हो । लकडाउनका कारण अस्पताल आउन नपाएका तथा औषधी अभाव भएका बिरामीलाई घरमै पु¥याउने व्यवस्था गरेको स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ । कार्यालयका प्रमुख अमर दवाडीका अनुसार औषधी अभाव हुने विरामीले फोन गरेमा विभिन्न माध्यमबाट घरमा पु¥याउने गरिएको छ । लकडाउनको समय ६० जना भन्दा बढीलाई औषधी उपलब्ध गराएको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?