भैरहवा समाचारदाता
भैरहवा, बैशाख ५ गते । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले सिमावर्ती क्षेत्रका स्थानीय सरकार प्रमुखलाई सीमापारीका सरकारसँग समन्वय गर्न निर्देशन दिनुभएको छ ।
बिहीबार देशैभरका नेपाल–भारत सिमावर्ती स्थानीय सरकारका प्रमुखसँग भिडियो सम्वाद गर्ने क्रममा मन्त्री त्रिपाठीले सिद्धार्थनगर नगरपालिका प्रमुख हरि प्रसाद अधिकारीसँग छलफल गर्ने क्रममा यस्तो निर्देशन दिनुभएको हो ।
मन्त्री त्रिपाठीले सिद्धार्थनगर प्रमुखसँग छलफलका क्रममा भन्नुभयो–“भारतीयहरु भैरहवा क्वारेन्टाइनमा छन्, तिनलाई तपाईहरुले व्यवस्थापन गर्नुस्, नेपाली नागरिकको व्यवस्थापनबारे सिमापारीका जनप्रतिनिधिसँग छलफल गर्नुहोस् ।”
छलफलमा नगरप्रमुख अधिकारीले सिद्धार्थनगर भैरहवाको वर्तमान वस्तुस्थितिको बारेमा जानकारी गराउनुभएको थियो । नगरप्रमुख अधिकारीले मन्त्री त्रिपाठीसँग भन्नुभयो–“भैरहवामा आरडिटी मेसिन कृषि मन्त्रालयले पठाएको छ, तर आवश्यक उपकरण नहँुदा प्रयोग हुन सकेको छैन । दुईवटा क्वारेन्टाइन छन् । एउटा प्रतिमान–नीमामा भारतीय १५५ जना र शैक्षिक तालिम केन्द्रको क्वारेन्टाइमा २४ जना राखिएको छ ।”
नगरप्रमुख अधिकारीले भारतीय सीमावर्ती क्वारेन्टाइनमा रहेका ३०५ जनालाई नेपाल ल्याइ आ–आफ्नो पलिकामा राख्ने व्यवस्था गर्न तथा भैरहवामा रहेका भारतीय नागरिकलाई भारत जाने व्यवस्था गर्न संघीय सरकारसँग माग गर्नुभएको थियो । उहाँले खुला सिमाना भएकोले सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउन एवं अन्तरदेशीय रुपमा एकीकृत सुरक्षा बढाउन संघीय सरकारले पहल गर्नुपर्ने बताउनुभयो ।
त्यसैगरी नगरप्रमुख अधिकारीले मास्क, सेनिटाइजर, ग्लोब्स अभाव हुँदै गएको बताउँदै सरकारले यसतर्फ ध्यान दिन मन्त्री त्रिपाठीसँग आग्रह गर्नुभयो ।