सर्लाही समाचारदाता
सर्लाही, बैशाख ५ गते । विगत २५ दिनदेखिको लकडाउनका कारण गाडी नचल्दा सर्लाहीको पूर्व–पश्चिम राजमार्गमा हिँडेरै गन्तव्यतर्फ जानेहरुको सङ्ख्या बढिरहेको छ ।
सवारी साधन नचल्दा सुनसान रहेको पूर्व–पश्चिम राजमार्गमा पैदल हिँडेर घरतर्फ जानेहरुको चाप बढेको हो । जिल्लाको बाग्मतीदेखि बाँकेसम्म राजमार्ग क्षेत्रमा बिहानदेखि साँझ अबेरसम्म नै पैदल हिँडेर विभिन्न ठाउँमा पुग्नेहरुको हुल देखिन्छ ।
विशेष गरी विभिन्न ठाउँका उद्योगमा कार्यरत मजदुरहरु परिवारसहित घर फर्किरहेका पाइएको छ । यसरी पैदल हिँडेर गन्तव्य तय गर्नेहरुलाई बाग्मती र हरिवनका केही मनकारी व्यक्तिहरुले चाउचाउ, बिस्कुट, पानी लगायतका खानेकुराको व्यवस्था गरेका छन् ।
यसैबीच सर्लाहीको मुख्य–मुख्य बजार क्षेत्रमा लकडाउनको कार्यान्वयन भइरहे पनि भित्री बस्तीहरुमा यसको पालना भइरहेको छैन् । लकडाउन सुरु भएदेखि नै सुनसान अवस्थामा रहेका जिल्लाको लालबन्दी, हरिवन, बरहथवा, बयलवास, मलङ्गवा जस्ता ठूला बजारमा मानिसलाई अनावश्यक रुपमा जथाभावी हिँडडुल गर्न र मोटरसाइकल तथा अन्य सवारी सञ्चालनमा कडाई गरिएको छ । तर ग्रामीण भेगमा भने जथाभावी हिँडडुल गर्ने क्रम नरोकिएको हो ।