नरेन्द्र ढकाल
गोरखा, बैशाख ७ गते । शनिवार साँझ परेको असिनाले जिल्लाका विभिन्न ठाउँमा लगाइएको खेतिपाती नष्ट गरेको छ । हावा हुरी सहित आएको असिना पानीले व्यवसायीक तरकारी खेति गरेका किसान बढि मारमा परेका छन् ।
‘वर्ष भरी दुख गरियो, आम्दानी खाने बेला यस्तो दैब लाग्यो,’ ढकाल कृषि फर्म तथा भेटेनरीकी सञ्चालिका मेनुका ढकालले भनिन्, ‘राम्रोसँग एक डोको पनि बेच्न पाइएन, अब ऋण कसरी तिर्ने ?’ झण्डै १ लाख लगानी गरेकी उनको मात्र ३ लाख भन्दा बढिको क्षति भएको गुनासो गरेकी छिन् । उनी लगायत हर्मीमा मात्र झण्डै एक दर्जन कृषि फर्ममा लगाएको तरकारी र फलफूल असिनाले नष्ट गरेको छ ।
ढकाल कृषि फर्म तथा भेटनेरी, सापकोटा कृषि फर्म तथा भेटेनरी, बद्रि ढकाल, भुवनेश्वर भट्ट, रामबहादुर बानियाँ, सम्शेर गुरुङ, इश्वरी ढकाल, शिव ढकाल, अमृत ढकाल, प्रदिप घिमिरे लगायतका किसानको बारीमा लगाएको झण्डै ६० लाख भन्दा बढिको तरकारी असिनाले नष्ट गरेको कृषि सञ्जाल हर्मीका सचिव रामजी सापकोटाले बताए । ‘गाउँपालिकाबाट पास बनाएर बेच्न ठाँटीपोखरी लाने तयारी गरेका थियौं’ उनले भने, ‘मेरो मात्र ३ लाख ५० हजारको क्षति भएको छ, सबैको गर्दा त ६८÷७० लाख नै पुग्छ होला हामी क्षति विवरण संकलन गर्दैछौं ।’
गोलभेडा, काक्रो, घिरौला, बोडी, घ्यू सिमी, केराउ, लौका, फर्सी लगायतका तरकारी असिनाले नष्ट गरेको हो ।
व्यवासयीक रुपमा तरकारी खेति गदै आएका त्यहाँका किसानले स्थानीय समृद्धि कृषि सहकारीमा संकलन गरी हर्मी, आँपपिपल, थालाजुङ, ठाँटीपोखरी लगायतका स्थानमा लगेर बेच्ने गरेका थिए । बेच्ने बेला भएको तरकारी सबै असिनाले क्षति गरेपछि उनीहरु निराश भएका छन् । शनिवार आएको असिनाले थालाजुङ, छोप्राक, गाँखु, खोप्लाङ, आँपपिपल लगायतका विभिन्न ठाउँमा लगाइएको तरकारी र मकै खेतिमा क्षति गरेको किसानहरुले गुनासो गरेका छन् ।