चाँदनी आचार्य
लम्की वैशाख ७ गते । कैलालीको घोडाघोडी नगरपालिकाको क्वारेन्टाइनमा बस्नेहरुले समय कटाउन मुस्किल भएको भन्दै क्वारेन्टाईन बसेको क्षेत्रको सरसफाई बोटविरुवा गोडमेल पानी सिँचाउने काम गर्नथालेकाछन् ।
नगरपालिकाले वडा नम्बर १ सुखडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसमा व्यवस्था गरेको क्वारेन्टाईनमा हाल चालीस जना पुगेकाछन् । बुटवल, काठमाण्डौ, नेपालगंज लगायतका ठाउँमा रोजगारीकालागि गएका र लकडाउनको समयमा हिड्दै पुगेका घोडाघोडी नगरपालिकाका विभिन्न वडाका उनीहरुलाई १४ दिन क्वारेन्टाईन कसरी समय कटाउने भन्ने सोचले सताएको छ ।
वडा नम्बर ३ बगुलियाका हरिराम चौधरीले विहानै क्याम्पसको फुलबारीमा झार उक्काउदै भन्नुभयो ‘हामी दैनिक ज्याला मजदुरी गरी खानेलाई बसेर समय कटाउन गारो हुन्छ ।’ अहिले क्याम्पसमा बस्नेहरु कोही सामाजिक सञ्जालमा समय कटाउँछन भने कोही क्याम्पसको फुलबारीमा गोडमेल सिंचाई गरेर समय कटाउन थालेकाछन् ।
क्वारेन्टाईन संचालन तथा ब्यवस्थापन समितिका सदस्य रमेश आचार्यले वाईफाइको ब्यवस्था भएकोले कतिपय मोवाईलमै समय बिताउने गरेको र खाली बस्न दिक्क मानेकाहरु साँझ बिहान फुलबारीमा सानो तिनोकाम गरेर रमाउने गरेको बताउनुभयो ।