बझाङ समाचारदाता
बझाङ, वैशाख ७ गते । कोरोना भाइरसको माहामारी रोकथाम तथा नियन्त्रणका लागि देशमा लकडाउन भएर काम अबरुद्ध भएका जिल्ला भित्रका ठुला योजनाहरुको काम सुरु गरिने भएको छ । जिल्ला भित्रका ठुला योजनाहरुको काम लामो समयसम्म अवरुद्ध हुँदा विकास निर्माणमा बाधा पुग्ने भन्दै काम सुचारु गर्ने तयारी गरेको हो । लामो समय सम्म काममा बाधा भएपछि त्यहाँ आश्रित मजदुरहरुलाई समस्या भएको छ ।
नेपाल सरकारले देशभरिका ठुला योजनाहरुको काम सूचारु गर्न परिपत्र गरे सँगै बझाङमा पनि यस्ता योजनाहरुको काम सुरुवात गरिने भएको हो । जिल्ला शान्ती सुरक्षा समितिको बैठकले जिल्लामा रहेका ठुला योजनाहरु चैनपुर–ताक्लाकोट सडक, जयपृथ्वी राजमार्ग र सेती नदीमा निर्माणधिन पक्की पुलहरुको गर्न काम सूचारु गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘ठुला योजनाहरुमा काम गर्दा आवश्यक पर्ने सामान ढुवानी गर्न सकिने र मजदुरहरुलाई सामाजिक दुरी कायम गरेर काममा लगाउने गरि ब्यबस्थापन गरिनेछ ।’
गृह मन्त्रालयको बैशाख ४ गते जिल्ला प्रसासन कार्यालय बझाङलाई परिपत्र गर ेअनुसार ठूला आयोजनाको काम अघि बढाइने भएको हो । साथै बैठकले बाहिरबाट जिल्ला प्रवेश गरेका व्यक्तिहरुलाई २१ दिनसम्म अनिवार्य क्वारेन्टाइनमा राख्ने र टाढाका विद्यार्थीहरुलाई पायक पर्ने गरी १३ ओटा एसइईका परिक्षा केन्द्रहरु थप्ने निर्णय समेत गरेको छ ।