logo
२०८१ मंसिर १२ बुधवार



कोरोना त्रास मेटाउन खुशी बाँड्दै वृद्धाश्रममा युवाहरु

खुला |


कोरोना त्रास मेटाउन खुशी बाँड्दै वृद्धाश्रममा युवाहरु


रामहरि गजुरेल
नुवाकोट, बैशाख ६ गते । कोरोना संक्रमणले विश्वव्यापी संकट र जोखिम बढिरहेका बेला वृद्धाश्रममा जिवन बिताइरहेका जेष्ठ नागरिकहरुलाई अझ नराम्ररी सताएको छ । यस महामारीले यतिबेला दुनिँयाभर सन्त्रास फैलाइरहेको बेला वृद्धाश्रमका वृद्धवृद्धाहरुमा समेत कोरोना संक्रमणको संकटले प्रभाव पारेपछि सामाजीक कार्यमा अग्रसर युवाहरुको एक समुहले नुवाकोट जिल्लामा अत्यावश्यक सहयोग सामग्री सहयोग गरी खुशी बाँडिरहेका छन् ।

नुवाकोटको पञ्चकन्या र लिखु गाउँपालिकाका सामाजीक अभियन्ताहरुले व्यक्तिगत रुपमा सहयोग संकलन गरी विदुर नगरपालिका देविघाटस्थित जेष्ठ नागरिक सेवा आश्रममा रहेका वृद्धवृद्धाहरुलाई ठुलो मात्रामा खाद्यान्न लगायतका सामग्री वितरण गरेका हुन् । समाजसेवी पञ्चकन्या गाउँपालिका–१ का भगवान पौडेलको नेतृत्वमा पञ्चकन्या–२ का विष्णुहरी मिश्र, जिवन श्रेष्ठ, शिशिर मिश्र र लिखु गाउँपालिका–४ का रामचन्द्र अगस्ती, रामशरण देवकोटा, सुर्यगढी गाउँपालिकाका शंकर प्याकुरेलले दाल चामल, तेल, आलु लगायतका १३ प्रकारका खाद्य सामग्रीका साथै माक्स, साबुन लगायत सरसफाईमा प्रयोग हुने वस्तुहरु हस्तान्तरण गरिएको छ ।

कोरोना महामारीको त्रासमा बस्न बाध्य वृद्धवृद्धाहरुलाई खुशी र शान्त भएर बस्ने मनोबल र साथ दिन आफुहरु आएको समाजसेवी भगवान पौडेलले जानकारी दिनुभयो । ‘यस्तो अवस्थामा उहाँहरु आत्तिनुभएको देखेर मनैदेखि आफ्नै आमाबुबा सम्झेर साथ दिन अत्यावश्यक सबै सामाग्री बोकेर आएका हौँ’, पौडेलले भन्नुभयो–‘यसबाहेक नुवाकोटमा अप्टिकल फाईबर बिछ्याउने कार्यमा खटिएका बारा, पर्सा, रौतहट, चितवन लगायतका जिल्लाबाट आएका मजदुरहरुको दयनीय अवस्था देखेर उहाँहरुलाई पनि बाटोमा भेटेर खाद्यान्न सहयोग गरिरहेका छौँ ।’

अहिले लक डाउनका कारण बाहिरबाट छरछिमेकी हरुले समेत सहयोग गर्न नपाइरहेको जटिल अवस्थामा वृद्धाश्रममा अलपत्र परेका जेष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा हेरचाह र सहयोगको खाँचो रहेको अर्का सहगोगी युवा रामचन्द्र अगस्तीले बताउनुभयो । ‘खाद्यान्न उपलब्ध गराएर सहयोग पु¥याउनुपर्ने खाँचो हामीले देख्यौँ र सबैजनासँग रकम जुटाएर राहत दिन आएका हौँ’– अगस्तीले भन्नुभयो ।
यस महामारीको समयमा अलपत्र परेका, दुःख पाएका नागरिकहरुलाई उद्धार र सहयोग गर्न लगनशीलता ठुलो मानविय सहयोग मात्रै नभएर समाजका लागि महत्वपुर्ण प्रेरणाको सन्देश भएको देविघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानका अध्यक्ष विष्णु प्रसाद नेपालले प्रसंशा व्यक्त गर्नुभयो ।

देविघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानले सञ्चालन गरेको जेष्ठ नागरिक सेवा आश्रममा हाल वृद्धवृद्धा र अशक्त उमेरका ४० जनाभन्दा बढी जेष्ठ नागरिकहरु बसोवास गर्दै आइरहेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?