अमृतप्रसाद पौडेल
बेनी, वैशाख ८ गते । म्याग्दी जिल्लाका ६ वटा स्थानीय तहले कोरोना कोषमा ३ करोड छुट्याएका छन् । बेनी नगरपालिकामा १ करोड, अन्नपूर्ण गाउँपालिकाको ७० लाख, धौलागिरी गाउँपालिका ५० लाख, रघुगंगा गाउँपालिका ३० लाख, मंगला गाउँपालिका ३० लाख र मालिका गाउँपालिकाको २० लाख गरी जिल्लामा कोरोना कोषमा तीन करोडको कोष स्थापना भएका छन् ।
आइतबार बेनी नगरपालिकाको नगर कार्यपालिका बैठकले यसअघिको ५० लाखको कोषमा पुनः थप ५० लाख रुपैयाँ विनियोजन गरेको छ । कोरोना कोषमा ५० लाख रुपैयाँ थप गर्ने र आईसोलेसन कक्ष निर्माण गर्ने कार्यपालिकाको वैठकले निर्णय गरेको बेनी नगरपालिकाका प्रवक्त रामकृष्ण बराईलीले बताउनुभयो
बेनी नगरपालिकाले पत्रकार सम्मेलनगरी कोषमार्फत बेनीको न्यु वेष्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालयमा १० बेड क्षमताको ‘आइसोलेसन वार्ड’ स्थापना गर्ने समेत प्रवक्ता बराईलीले बताउनुभयो । उहाँले पहिलो चरणमा विनियोजन गरिएको ५० लाख वडास्तरमा राहत, क्वारेन्टाइनमा बस्नेलाई खानालगायत कोरोना रोकथामको अभियानमा खर्च भएकाले कोष बजेट थपिएको बताउनुभयो ।
सडकमा बेवारिसे अवस्थामा रहेकालाई समेत सोमबारदेखि नगरपालिकाले नै नियमित खाना खुवाउनुका साथै उचित व्यवस्थापन गरिने प्रवक्ता बराईलीले बताउनुभयो । नगरभित्रका १० वटै वडामा दीर्घ रोगीलाई समेत औषधी ढुवानी गरिने, छिमेकी बागलुङ जिल्लासँग सिमाना जोडिएका वस्तीहरुमा नियमित निगरानी गर्न स्वयंसेवकहरु परिचालन, अनुगमन गरी आवश्यक स्वास्थ्य सामग्रीहरु उपलब्ध गराइने भएको छ । यसअघि कोषको रकमबाट वेष्ट प्वाइन्टमा स्थापना गरिएको ३० बेड क्षमताको क्वारेन्टाइनमा चैत महिनामा विदेशबाट फर्किएकाहरुलाई राखेर नियमित चेकजाँच गरिएको थियो ।
पत्रकार सम्मेलनमा कोरोना भाइरसको संक्रमण (कोभिड–१९) रोकथाम तथा उपचार कोष सञ्चालनसम्बन्धी कार्यविधि–२०७७ संशोधन गरिएको समेत जानकारी गराइएको थियो ।
यसैबीच म्याग्दी जिल्लामा कुल १ सय ५० जनाको कोरोना भाइरस विरुद्ध ¥यापिड डाइग्नोष्टिक परीक्षण (आरडिटी) गरिएको स्वास्थ्य कार्यालय म्याग्दीका सूचना अधिकारी ध्रुव गिरीले बताउनुभयो ।
त्यस्तै विदेशबाट फर्किएका म्याग्देलीहरुलाई १४ दिनसम्म राख्नका लागि बेनी नगरपालिकामा ५०, रघुगंगा गाउँपालिकामा ५०, धवलागिरीमा ४०, अन्नपूर्णमा १५, मंगलामा १० र मालिकामा ८ बेड गरी जिल्लाभर कुल १ सय ७३ बेड क्षमताको क्वरेन्टीन बनाइएको छ । बेनी अस्पतालमा ६ बेडको आइसोलेसन कक्ष समेत रहेको छ । यसअघि म्याग्दीबाट नमुना सङ्कलन गरी स्वाब परीक्षण गर्न पोखरा पठाइएको १४ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।