दार्चुला समाचारदाता
दार्चुला, वैशाख ८ गते । नेपाल, भारत दुबै देशमा लकडाउन र सीमा बन्द गरिएको बेला भारतबाट ट्युबमार्फत महाकाली तारेर नेपाल ल्याउने ट्युब चालक पक्राउ परेका छन् । महाकाली नगरपालिका–७ धापका करन टमटालाई महाकालीमा मानिस तारिरहेको अवस्थामा ट्युब सहित पक्राउ गरिएको प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले बताउनुभयो ।
भारतबाट अबैध रुपमा महाकाली नदी तरेर दार्चुला भित्रिने क्रम नरोकिएपछि व्याँस गाउँपालिकादेखि लेकम गाउँपालिकाको लालीसम्म दर्जनबढी स्थानमा सुरक्षा टोली खटाइएको छ । महाकाली किनाराको ८ स्थानमा सशस्त्र प्रहरी र बाकी विभिन्न स्थानमा नेपाल प्रहरी खटिएका छन् । सीमा नाकाहरुमा सुरक्षा सतर्कता बढेपछि अबैध ढंगले नेपाल प्रबेश गर्ने मानिसहरुको संख्यामा कमी आएको प्रहरी निरीक्षक जोशीले बताउनुभयो ।
यसैबिच भारतका विभिन्न सहरबाट दार्चुला आएका ५६० जनामा कोरोना परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको छ । क्वारेन्टाइनमा बसेका ४६० जनाको थ्रोट स्वाब नमुना र एक सय जनाको आरडिटी परीक्षण गर्दा सबैको रिपोर्ट नेभेटिम आएको जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताउनुभयो ।