गोकर्ण दयाल
बैतडी, वैशाख ८ गते । सङ्घीय सरकारले सुरदूरपश्चिममा खटाएका ३४ जना डाक्टर मध्ये बैतडी अस्पतालमा तीन जना डाक्टर आईपुग्नु भएको छ ।
सङ्घीय सरकारले बैतडी खटाईएका डाक्टर विकास शहनी, डाक्टर विहन्त शाह र डाक्टर प्रकाश दर्जी बैतडी आईपुग्नु भएको हो ।
डाक्टर विकास शहनी र विहन्त शाह दम रोग, मधुमेह, उच्च रक्तचाप लगायत जनरल सेवा दिनुहुने छ भने डाक्टर प्रकाश दर्जी हड्डी रोग सम्बन्धी सेवा दिनुहुने जिल्ला अस्पताल बैतडीका निमित्त डाक्टर वशन्तराज जोशीले बताउनुभयो ।
लामो समयदेखि डाक्टरविहीन जिल्ला अस्पतालमा डाक्टर आईपुगेपछि बैतडीबासी खुशी बनेका छन् । सङ्घीय सरकारले बैतडी अस्पतालमा डाक्टर पठाएपछि अस्पतालको सेवा प्रभावकारी बन्ने बैतडी अस्पतालका निमित्त डाक्टर वशन्तराज जोशीले बताउनुभयो ।
चिकित्सकसँगै बैतडी अस्पतालमा ल्याब स्थापना र भेन्टिलेटर जडान गर्न सरकारले पहल थालेको छ । सरकारले जिल्ला अस्पताल बैतडीमा भेन्टिलेटर पठाउने निर्णय गरेको छ भने ल्याब सञ्चालनका लागि समेत सम्भाव्यता अध्ययन भएकोले छिट्टै्र ल्याब सेवा पनि सञ्चालनमा आउने डाक्टर जोशीले बताउनुभयो ।
२९ वर्ष अघि स्थापना भएको बैतडी अस्पतालमा ९औं तह ८औं तह र ७औं तहको डाक्टरको दरबन्दी लामोसयदेखि रिक्त रहेको थियो । तत्काल डाक्टरको अभाव पूर्ति भएपछि बैतडीबासीले जिल्लामै स्वास्थ्य सेवा पाउने भएका छन् ।
कोरोना भाइरसको सङ्क्रमण फैलिरहेको बेला सङ्घीय सरकारले बैतडीमा डाक्टर पठाएर ल्याब स्थापना र भेन्टिलेटर जडान गर्ने निर्णय गरेपछि २९ वर्षपछि बल्ल बैतडी अस्पताल साच्चै अस्पताल जस्तो हुनलागको चिकित्सकले बताएका छन् ।