विष्णुप्रसाद पोखरेल
दमक, बैशाख ९ गते । झापाको दमकमा लकडाउनको समयमा खुलेका दैनिक उपभोग्य सामागी्र विक्री गर्ने किराना पसलका ख्ुद्रा तथा थोक बिक्रेताले कालोबजारी गरिरहेको र आफुखुसि मूल्य लिएको गुनासोपछि अनुगमन भएको छ । दमक नगरपालिकाको नगर अनुगमन समितिले अनुगमनको क्रममा मूल्य सूँचि टाँस नभएको र बढि मूल्य लिएको प्रमाण भेटिएका १५ वटा पसलहरु बन्द गराएको छ ।
दैनिक उपभोग्य सामाग्रिहरुमा शत प्रतिशतसम्म मूल्य बृद्धि गरिएको पाईएको छ र कुनै पनि पसलले मूल्य टाँस नगरेको पाईएको छ, अनुगमन समितिका संयोजक भीम पौड्यालले भन्नुभयो । मूल्य सूचि टाँस नगरेसम्म र उचित मूल्य लिइने लिखित प्रतिबद्धता जनाएरमात्र पसल खोल्न दिइनेछ, उहाँले भन्नुभयो । दालमा त बजारमा झनै मनपरी पाईएको छ, पौड्यालले जनाउनु भयो ।
एउटै लाइन र एकै ठाँउमा रहेका तीनवटा पसल अनुगमन गर्दा तीनवटामा नै फरक मूल्य पाएको पनि बताईएको छ । बजारमा ९५ रुपियादेखि १ सय ४० रुपियासम्म लिएर दाल विक्री गरेको पाएका छौ र त्यसको बिल म संग सुरक्षित रहेको छ, वडा नं. ७ का वडाध्यक्ष समेत रहनु भएका अनुगमन समिति संयोजक पौड्यालको भनाई छ । यस्ता पसलहरुलाई सोमबार अनुगमनको क्रममा नै बन्द गराईएको थियो ।
दाल, तेल, चीनि लगायतका दैनिक उपभोग्य सामाग्रिमा अधिक मूल्य लिएर ब्यापारीहरुले विक्री गर्दै आएको गुनासो आएपछि अनुगमन भएको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाले बताउनु भयो । ठगी गर्ने ब्यापारीहरुलाई स्थानीय उपभोक्ता ऐनले तोकेको कार्वाही गर्ने तयारी भइरहेको छ, उहाँले भन्नुभयो । यो संक्रमणको अवस्थामा अनुगमन हुँदैन भनेर मनपरी बढेको पाईयो, उहाँको भनाई छ ।
दमक उद्योग बाणिज्य संघले पनि बजारमा मनपरी बढेको स्वीकार गरेको छ । दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठको अध्यक्षतामा सोमबार बसेको संघको बैठकले कालोबजारी गर्ने र ठगि गर्ने ब्यवसायीलाई कार्वाही गर्न माग गरेको छ । यस्तो अवस्थामा पनि कालोबजारी भएको र ब्यवसायीले बढि मूल्य लिए उपभोक्ता ठगेको कुरा सुन्दा र देख्दा हामीलाई पनि नराम्रो लागेको छ, उहाँले भन्नुभयो ।