भैरहवा समाचारदाता
भैरहवा, बैशाख ९ गते । सरकारले घोषणा गरेको लकडाउन तथा कोरोना भाइरस संक्रमणको रोकथामका लागि स्थानीय तहले गरेका कामलाई थप प्रभावकारी बनाउन संयुक्त अनुगमन थालिएको छ ।
जिल्ला समन्वय समिति, सम्बन्धित क्षेत्रका प्रदेशसभा सांसद तथा स्थानीय तहले संयुक्त रुपमा अनुगमन थालेका हुन् । लकडाउन तथा स्थानीय तहको एकद्वार प्रणालीलाई सफल बनाउन तथा थप प्रभावकारी बनाउन अनुगमन सुरु गरिएको जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले बताउनुभयो । उहाँले स्थानीय तहले गरेको कामहरुलाई प्रभावकारी बनाउन तथा त्यसको विवरण तयार पारेर प्रदेश तथा संघीय सरकारलाई पठाइने बताउनुभयो ।
अनुगमनले स्थानीय तहलाई अझ प्रभावकारी ढंगले अगाडि बढ्न प्रेरणा प्रदान हुने तथा अनुगमनकर्तालाई अप्ठ्यारो चिर्न अनुभव प्राप्त हुने उहाँको भनाइ छ । प्रदेश ५ का प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेयले स्थानीय तह, सीमा नाका, अस्पताल, क्वारेन्टाइनको अवस्थाबारे अनुगमनमार्फत जानकारी लिने कार्य भइरहेको बताउनुभयो ।
प्रदेशसभा सांसद रमा अर्यालले कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै सरकारले घोषणा गरेको लकडाउनको अवस्था, सीमा क्षेत्र, क्वारेन्टाइन तथा अस्पतालमा भएका समस्याबारे बुझ्न तथा आगामी रणनीति तयार पार्न अनुगमन थालिएको बताउनुभयो ।
टोलीले भैरहवास्थित भीम अस्पतालको आइसोलेशन कक्ष, प्रतिमान–नीमा कलेजको क्वारेन्टाइनमा रहेका भारतीय नागरिकको अवस्था, सीमा नाकामा सुरक्षाको स्थिति तथा सुरक्षाकर्मीको अवस्था तथा मायादेवी गाउँपालिका–८ शैक्षिक तालिम केन्द्रको क्वारेन्टाइनमा रहेका नेपाली तथा भारतीय नागरिकको अवस्थाबारे बुझेको छ ।