हुम्ला समाचारदाता
सिमकोट वैशाख ९ गते । कोरोना कहरले बन्दाबन्दी जारी रहेको अबस्थामा पनि प्रसुती गृहमा सुत्केरी हुने महिलाहरु बढेका छन् । यस्ता घटनाका बिरामीलाई सहजै प्रसुती गृहसम्म जाने ब्यबस्था हुदा र सुरक्षित रुपमा सुत्केरी हुने भएपछि यो संख्यामा बृद्धि भएको हो ।
स्वास्थ्य सेवा कार्यालयकी सिनियर अनमी सरिता बोहराले यो बन्दाबन्दी यता १२ जना गर्भवती महिलाहरुको प्रसुती गृहमा सुत्केरी भएकोमा दुई जनाको अप्रेशनबाट र अन्य दश जनाको सामान्य रुपमा सुत्केरी भएको बताउनुभयो । असी जना गर्भवतीको यो अबधिमा गर्भजाँच गरिएको छ । उहाँका अनुसार सुत्केरी हुने महिना पनि यो अबधिमा परेकोले प्रसुती गृहमा सुत्केरी हुने संख्यामा बृद्धि भएको भएपनि चेकजाँच गर्ने भने संख्या घटेको छ ।.
त्यस्तै पाठेघर र महिनावारी गडबड हुने महिला बिरामीको संख्या भने निक्कै घटेको अस्पतालले जनाएको छ । अत्याबश्यक सेवा भित्र प्रसुती सेवा पनि पर्ने र यो सेवा चौबीसै घण्टा खुला रहने भएको कारण पनि बिरामीहरुलाई उपचारमा समस्या नभएको हो । अर्को कुरा प्रसुती गृहमा सुत्केरी भए सुरक्षित पनि हुने र सुत्केरी भत्ता नि पाईने भएपछि यो संख्या बढेको हो ।
यता सिमकोट गाउँपालिकामा १०५ जना गर्भवती भएकोमा बन्दाबन्दीमा पाँच जना महिला प्रसुती गृहमा आएर बच्चा जन्माएको स्वास्थ्य शाखाको संयोजक दान बहादुर बोहराले बताउदै गर्भजाँच गराउनेको संख्या पनि बढेको बताउनुभयो । सिमकोट गाउँपालिकामा चार वटा स्वास्थ्य चौकीहरु रहेका छन् । यता चार वटा स्वास्थ्य चौकी र एक वटा सामुदायीक अस्पताल भएको खार्पुनाथ गाउँपालिकामा पनि यो अबधिमा ३५ जना गर्भवती महिलाहरु गर्भजाँच गराउनु आउनु भएको छ ।
शनिबार पनि स्वास्थ्य संख्या खुला रहने भएको कारण महिला बिरामीको संख्या बढी आउने गरेको बताउदै स्वास्थ्य शाखा प्रमुख बलिराज शाहीले बन्दाबन्दीमा सात जना महिलाहरु प्रसुती गृहमा सुत्केरी हुनु भएको बताउनुभयो ।
फोटो क्याप्सन
सुत्केरी ब्यथा लागेकी महिलाको बन्दाबन्दीका बेला गाडीमा उद्धार गरेर प्रसुती गृहमा लगिदै ।
तस्बिर ः राजन रावत, हुम्ला
।