हरिप्रसाद कोइराला
उर्लाबारी, बैशाख ९ गते । दक्षिण पूर्वी मोरङका रतुवामाई, उर्लाबारी, सुनवर्सी र रङ्गेली नगर क्षेत्रमा युरिया मलको अभाव भएको छ ।
चैते धानमा मल हाल्ने समयमा मलको अभाव भएको किसानहरूले बताएका छन् । मोरङको रतुवामाई ९ भौडाहामा मल पाउने आसमा बिहान साढे २ बजे देखि सामाजिक दूरी कायम गरी पंक्तिमा बसेका अधिकांश किसान रित्तो हात फर्किएका छन् । तीन जना किसानलाई १ बोरा मल दिने बिक्रेताको योजना थियो । तर १ सय २० किसानले मात्र मल पाएको भौडाहाका कृष्णराज खतिवडाले बताउनु भयो । १ बोरा मल ३ जना किसानले कति कति हाल्ने किसानले आक्रोस ब्यक्त गरेको छन् ।
.दक्षिणी मोरङमा यतिबेला धानमा मल हाल्ने बेला भएको छ । १० कट्ठामा धान लगाउनु भएका रतुवामाई ८ का किसान शान्तिराम कोइरालाले भन्नुभयो – तातोघाममा पंक्तिमा बसेर १ बोरा मल प्राप्त गर्दा ठूलो जीत भएको महसुस भयो । तर, सँगै पंक्तिमा बस्नु भएका सोही गाउँका राम बस्नेत भने खालि हात फर्किनु भयो । बस्नेतले १ विगाहामा चैते धान लगाउनु भएको छ । राति देखि मल पाइन्छ भनेर बसेका किसान खालि हात फर्किदा समेत तीन तहका सरकारले मल उपलब्ध गराउन पहल नगरेको किसानको आक्रोस छ ।
उता मोरङको उर्लाबारी नगर क्षेत्रमा समेत मल , बीउ र विषादीको अभाव सुरु भएको छ । नगरका कृषि शाखा प्रमुख अम्विकाप्रसाद लुइटेलले भन्नुभयो – नगरका कुनै पसलमा मल , बीउ र विषादी उपलब्ध छैन् । नगर क्षेत्रमा २ सय ५० हेक्टर क्षेत्रफलमा चैते धान खेती भएको छ । किसानलाई अनुदान दिएर धान खेती गर्न लगाइएको छ । तर, मल उपलब्ध गराउन नसक्दा किसान निरास भएको कृषि शाखा प्रमुख लुइटेलले बताउनु भयो । ..
तर, विराटनगर स्थित साल्ट टे«डिङ कर्पोरेसनका प्रमुख राधेश्याम चौधरी भने साल्ट टे«डिङको गोदाममा ९० हजार बोरा युरिया र ८० हजार बोरा डिएपी मल मौज्दात रहेको बताउनु हुन्छ । खाद्यान्न जस्तै मल , बीउ लाई पनि अत्यावश्यक सेवामा राखेर ढुवानी गर्न दिनु पर्ने चौधरीले बताउनु भयो । मल ढुवानी गर्न नपाउँदा समस्या भएको उहाँको भनाई छ । उहाँले किसानले आवश्यकता भन्दा बढी भण्डारण गरिरहेको हुन सक्ने बताउनु भयो । सामान्यता यो सिजनलाई आवश्यक पर्ने मल बिक्री भइसकेको उहाँको भनाई छ ।