logo
२०८१ माघ १७ बिहीवार



चट्याङ लागेर चार घाइते

खुला |


चट्याङ लागेर चार घाइते


गाईघाट, वैशाख ९ गते । गएराति आएको हावाहुरी र चट्याङका कारण चारजना घाइते भएका छन् भने जिल्लाका विभिन्न स्थानका करोडौँको आँप, लिची र केराजस्ता फलफूल बालीको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति ११ देखि १२ बजेसम्म परेको चट्याङले जिल्लाका विभिन्न स्थानमा चारजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय प्रमुख वीरबहादुर बुढामगरका अनुसार जिल्लाको कटारी नगरपालिका ११ बेतिनीमा रातमा सुतिरहेका दम्पतीद्वय ५० वर्षीय चन्द्रबहादुर मगर र ४८ वर्षीय मनकुमारी मगर चट्याङका कारण घाइते भएका छन् । यस्तै कटारी नगरपालिका–६ रिस्कुमा पनि गएरातिको चट्याङबाट रिस्कुका १२ वर्षीय आसमान राई सख्त घाइते भएका छन् भने राईको घरमा चट्याङका कारण बाख्राको पनि मृत्यु भएको छ ।

त्रियुगा नगरपालिका–५ दमौटीका २७ वर्षीया सुसमा मगर पनि सुतेको अवस्थामा चट्याङ लागेर घाइते भएको प्रहरीले जनाएको छ । ट्याङबाट घाइते भएकाको अहिले कटारी अस्पताल र जिल्ला अस्पताल गाईघाटमा उपचार भइरहेको प्रहरी प्रमुख बुढामगरले बताउनुभयो । यस्तै गएरातिको हावाहुरीले त्रियुगा, बेलका र चौदण्डी नगरपालिका क्षेत्रका करोडौँ मूल्यको फलफूलहरु आँप, लिची र केरा खेतीमा क्षति गरेको छ ।

त्रियुगा नगरपालिकाका खैजनपुर, जोगिदह क्षेत्रमा भर्र्खरै फल लाग्दै गरेको आँप र लिचीमा क्षति पुगेको जोगिदहका स्थानीय नारायण ढकालले बताउनुभयो । यस्तै यस क्षेत्रमा धेरै केराका बोटसमेत हावाहुरीले ढालेको अर्का स्थानीय राजनारायण चौधरीले बताउनुभयो । चौदण्डी नगरपालिकाको हँडिया र सिवाई सुन्दपुर क्षेत्रमा पनि भर्खरै फल लागेको आँप र लिचीमा हावाहुरीले खसालेर क्षति पु¥याएको छ भने धेरै केराका बोट लडाएको हँडियाका स्थानीय विष्णु चौधरीले बताउनुभयो । जिल्लाको बेलका नगरपालिकाको तपेस्वरी, भागलपुर क्षेत्रमा पनि हावाहुरीको कारण आँप र लिचीको फलमा क्षति पुगेको छ भने धेरै केरा बगानका केरा ढालेको भागलपुरका सविन्द्र राईले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?