logo
२०८१ मंसिर १२ बुधवार



आमाबुवासँगै क्वारेन्टाइनमा रहेका आठ महिने शिशुको मृत्यु

खुला |


आमाबुवासँगै क्वारेन्टाइनमा रहेका आठ महिने शिशुको मृत्यु



जनार्जन खत्री
सर्लाही, बैशाख १० गते । सर्लाहीको उत्तर–पूर्वी चुरेभेगस्थित लालबन्दी नगरपालिका–१५, परवानीपुर झल्ला चौडीमा आमाबुवासँगै क्वारेन्टाइनमा रहेका आठ महिने शिशुको मृत्यु भएको छ

रौतहटको गरुडास्थित एक इँटा उद्योगमा कार्यरत परवानीपुर शीर फुलजोरका तारादेवी वाईवा आफ्नी श्रीमती र आठ महिने छोरासहित तीन दिनअघि मात्रै गाउँ आउनु भएको थियो । उहाँहरुलाई तत्काल घर पठाउँदा गाउँले त्रसित हुने भन्दै स्थानीय जनप्रतिनिधिले झल्ला चौडीस्थित रुन्चे बजारको विद्यालयमा अस्थायी क्वारेन्टाइन निर्माण गरी बस्ने व्यवस्था मिलाएका थिए ।
सोही क्वारेन्टाइनमा मङ्गलवार बेलुका आमाबुवासँगै सुतेका बालकको राती मृत्यु भएको हो ।

बुवा तारादेवी वाईवाले बच्चालाई राती अचानक धेरै ज्वरो आएको र निमोनियाको समस्या पनि देखिएको बताएका वुधवार बिहानै घटनास्थलमा पुग्नु भएका स्थानीय युवा दीपक साशङ्करले जानकारी दिनुभयो । झल्ला चौडी ईश्वरपुर नगरपालिका वडा नं. १२ घारिबथानको फूलजोर गाउँ नजिकै पर्छ ।

घटनाबारे जानकारी पाए लगत्तै आफू पनि त्यसतर्फ गइरहेको लालबन्दी नगरपालिका–१५, का वडाध्यक्ष गोरखबहादुर बलले बताउनु भएको छ । यस्तै लालबन्दी बजारस्थित नगरपालिकाबाट पनि आफूसहित स्वास्थ्यकर्मीहरुको टोली घटनास्थलतर्फ हिँडेको नगरपालिकाको स्वास्थ्य शाखाका सह–संयोजक सुरेन्द्र खतिवडाले जानकारी दिनुभयो ।


कोरोना भाईरस (कोभिड–१९) को संक्रमण बढिरहेको अवस्थामा क्वारेन्टाइनमा राखिएका बालकको मृत्यु भएपछि स्थानीय त्रसित भएका छन् । घटनास्थलमा अहिले ठूलो सङ्ख्यामा स्थानीय वासिन्दा जम्मा भएका छन् ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?