राजन रावत
सिमकोट वैशाख १० गते । हुम्लाका किसानहरु चिनो र फापर छर्ने बारीमा व्यावसायिक आलु खेती गर्न थाल्नु भएको छ । आलु बढी उत्पादन र आम्दानी हुने भएपछि किसानहरु आलु खेतीतर्फ आकर्षित हुनु भएको हो ।
सिमकोट गाउँपालिका वडा नम्बर ५ का किसान मानबिर रोकायाले चार रोपनी जग्गामा ड्याङ बनाएर आधुनिक आलु खेती सुरु गर्नु भएको छ । यसअघि उक्त जग्गामा चिनो र फापर खेती हुने गरेको थियो । कम परिश्रम, उत्पादन बढी र नगद आम्दानी हुने भएपछि रोकायाले आलु खेतीतर्फ आर्कषित भएको बताउदै ठुलो प्लट बारीमा आलु खेती सुरु भएको बताउनुभयो ।
जिल्ला बाहिर आलु निर्यात हुन नपाए पनि हुम्लाकै स्थानीय बजारमा आलु बिक्री गरेर आम्दानी गर्ने किसानहरु संख्या धेरै हुन थालेको छ । अर्का किसान हरि बहादुर रावतले पनि यस पालीबाट पाँच रोपनी जग्गामा आलु खेती सुरु गर्नु भएको छ ।
आलु आम्दानीको राम्रो श्रोत हुन थालेपछि यसको ब्यबसायीक खेती गर्न थाल्नु भएका उहाँले उक्त जग्गामा गतबर्ष चिनो र फापर छरेको बताउनुभयो । फापर चिनो भन्दा आलुबढी उत्पादन पनि हुने गरेको छ । सिमकोट गाउँपालिका वडा नम्बर ५ का एक सय घरधुरीले साढे तीन सय रोपनी जग्गामा एकसाथ आलु खेती सुरु गर्नु भएको छ ।
आलु खेतीको संभाबना राम्रो भएकोले यसप्रति किसानहरु आर्कषित हुन थालेको बताउदै सिमकोट गाउँपालिका कृषि शाखाका संयोजक नेत्र बहादुर शाहीले आलु खेतीबाट आम्दानी पनि राम्रो हुने बताउनुभयो ।