logo
२०८१ मंसिर १२ बुधवार



सर्लाहीको परवानीपुरमा मृत्यु भएका शिशुको स्वाब परीक्षण गरिने

खुला |


सर्लाहीको परवानीपुरमा मृत्यु भएका शिशुको स्वाब परीक्षण गरिने


जनार्जन खत्री
सर्लाही, बैशाख १० गते । सर्लाहीको परवानीपुरमा मृत्यु भएका शिशुको स्वाब परीक्षण गराउन पहल भइरहेको छ ।

जिल्लाको उत्तर–पूर्वी चुरेभेगस्थित लालबन्दी नगरपालिका–१५, परवानीपुर झल्ला चौडीस्थित प्राथमिक विद्यालय तिनतलेमा बसिरहेका सोही वडाका तारादेव वाईबाका ५ महिने शिशुको मङ्गलवार राती मृत्यु भएको थियो । रौतहटको गरुडास्थित एक इँटा उद्योगमा कार्यरत ४९ जनालाई उद्धार गरी तीन दिनअघि सो विद्यालयमा ल्याएर राखिएको थियो । त्यसमध्ये ५ महिने शिशुको मङ्गलवार राती मृत्यु भएको हो ।

बालकको मृत्यु भएको खबर पाए लगत्तै वुधवार बिहान लालबन्दीबाट चिकित्सकहरुको टोली घटनास्थलमा पुगेको थियो । घटनास्थलको प्रकृति र बालकको शव हेर्दा चिसोका कारण उनको मृत्यु भएको जस्तो देखिएको प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीका इन्चार्ज डा. चन्दन चौधरीले जानकारी दिनुभयो । निमोनियाका बिरामी समेत रहेका बालकलाई सिमेन्टको चिसो भुइँमा सुताएको पाइएको डा.चौधरीले बताउनु भएको छ ।

मृतक बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ । त्यहाँबाट मृतक बालकको स्वाब परीक्षण गर्न पठाउने तयारी अघि बढाइएको छ । त्यसका लागि प्रदेश स्तरमा समन्वय भइरहेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताउनु भएको छ ।

चिसोबाट बालकको मृत्यु भएको जस्तो देखिए पनि कोरोना भाईरस (कोभिड–१९) बाट मृत्यु भएको होईन् भनेर विश्वस्त हुन् बालकको स्वाब परीक्षण गराउने तयारी गरेको उहाँको भनाई छ ।
यस्तै विद्यालयमा आश्रय लिएर बसिरहेका मृतक बालकका बुवा आमालाई भने घर पठाउने तयारी गरिएको छ । उहाँहरु स्वयंले घर जाने इच्छा व्यक्त गर्नुभएको र स्वास्थ्य अवस्था पनि सामान्य रहेको पाइएकाले केही खाद्यान्नको व्यवस्था गरी घर पठाउने तयारी गरिएको लालबन्दी नगरपालिका–१५, का वडाध्यक्ष गोरखबहादुर बलले बताउनु भएको छ । अरु तीन परिवारका मानिसलाई भने केही दिन त्यहीँ राखिने वडाध्यक्ष बलको भनाई छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?