logo
२०८१ मंसिर १२ बुधवार



गण्डकीमा पूर्वाधार निर्माणमा गति दिने तयारी

खुला |


गण्डकीमा पूर्वाधार निर्माणमा गति दिने तयारी


चन्द्रप्रकाश शर्मा
पोखरा, बैशाख १० गते । कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण अवरुद्ध बनेको पूर्वाधार निर्माणलाई गति दिन सुरु गरिएको छ । गण्डकी प्रदेशभित्र पर्ने ठूला योजनाहरुलाई निर्माणमा सहभागी कामदारको स्वास्थ्य सुरक्षामा ध्यान दिदै काम सुरु गर्न लागिएको हो ।

सरकारले राष्ट्रिय गौरवका योजना सहित ठूला योजना निर्माणमा सहज बनाउँने निर्णयसँगै गण्डकी प्रदेशका योजनालाइपनि सोही अनुसार अगाडि बढाउँने तयारी भइरहेको छ । गण्डकी प्रदेशभित्र घेरावार भित्रै निर्माण गर्न सकिने योजनाहरु लकाउँनको बेलापनि निरन्तर चलेपनि खुल्ला रुपमा गर्नुपर्ने योजनाहरु भने प्रभावित बनेका थिए ।

निरन्तर पोखरा विमानस्थल
पोखरामा निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम लकडाउँनका बेला समेत निरन्तर चलीरहेको छ । चिनियाँ र नेपाली कामदारले काम गरिरहेको विमानस्थलमा कार्यरत केही चिनियाँ कामदारहरु कोरोना भाइरस संक्रमणकै कारण केही समय रोकिएपनि अहिले सुरक्षित रुपमा विमानस्थल निर्माणको कामले गति लिइरहेको आयोजना प्रमुख विनेश मुनकर्मीले जानकारी दिनुभयो ।

चिनियाँ सिएमसी निर्माण कम्पनीले जिम्मा पाएको आयोजना निर्माणका लागि आवश्यक सामग्री चिन तथा भारतको कलकत्ता बन्दरगाहामा रोकिएपनि विमानस्थलमा स्टक रहेको सामान तथा अन्य कामका लागि १७० चिनियाँ र १०० जना नेपाली कामदारहरु निरन्तर काममा खटिइरहेको मुनकर्मीले जानकारी दिनुभयो । अहिलेसम्म ५६ प्रतिशत काम सकिएको विमानस्थल तोकिएको समय भन्दा अगावै सकिने आयोजनाले जनाएको छ ।

मध्यपहाडी र कालीगण्डकी करिडोरमा विष्फोट

सरकारको प्राथमिकतामा रहेका पुष्पलाल मध्यपहाडी लोकमार्ग र उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोरका विष्फोट गर्नुपर्ने ठाउँमा काम भइरहेका छन् । मध्यपहाडी लोकमार्गको पर्वत खण्ड र कालीगण्डकी करिडोरको मिरिङ्गे, बेलवगर क्षेत्रका कडा चट्टान विष्फोट गर्ने काम जारी रहेको आयोजनाहरुले जाएका छन् ।

मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर रामप्रसाद सुवेदीका अनुसार आयोजनाका केही ठाउँमा कटिङ गर्ने पर्ने ठाउँमा काम गर्ने तयारी गरिएपनि स्थानीयको त्रासका कारण गर्न नसकिएको बताउनुभयो । हाल पर्वतको चुवा खण्डको पहरो काट्ने काम भएको र कास्की लुम्ले खण्डमा सिमित कामदारहरुले कालोपत्रे गरिएको सडकको दायाँ वायाँ भागमा काम गरिरहेका छन् । ‘हामीले धेरै मानिसको भिड नलाग्ने खालका मेसिनको प्रयोग गरेर गर्न मिल्ने काम गर्न खोजेका थियौं तर स्थानीय त्रसित हुने अवस्था आएको र निर्माण सामग्री ओसारपसारमा समेत समस्या भएकाले द्रुत गतिमा काम गर्न सकेनौ, राष्ट्रिय गौरवका आयोजना निर्माणमा सरकारले केही सहज गराउँने निर्णय गरेकाले बैशाख १५ गतेपछि कामलाई गति दिन्छौं ।’ सुवेदीले भन्नुभयो ।
नेपाली सेनाले निर्माणको जिम्मा पाएको कालीगण्डकी करिडोरको बागलुङ खण्डमा विष्फोट तथा कटिङको काम भइरहेको नेपाली सेनाका इन्जिनियर रेश्मीराज भट्टराईले जानकारी दिनुभयो । बागलुङको मालढुङ्गादेखि बलेवासम्मको सडक १० मिटर चौडा गरिसकिएको र अहिले बलेवादेखि बेलवगरसम्मको सडक चौडा गर्ने काम भइरहेको भट्टराईले जानकारी दिनुभयो । ‘हामीले करिडोरको ट्रयाक खोलीसकेका छौ, अब १० मिटर चौडा गर्ने काम सुरु भएको छ, विष्फोट गर्ने ठाउँमा विष्फोट, कटिङ र जनशक्ति प्रयोग हुने ठाउँमा दुरी कायम गरेर १०० जना भन्दा बढी कामदारहरुलाई काममा खटाइरहेका छौं ।’ भट्टराईले भन्नुभयो ।
सकियो देशकै लामो पुल
बागलुङ र पर्वत जोड्ने लामो झोलुङ्गे पुल लकडाउनकै अवधीमा सकिएको छ । बागलुङतर्फ पुल निर्माण गर्ने स्थल घेरावार सहितको रहेकाले त्यही कामदारहरुलाई सुरक्षित रुपमा राखेर निर्माणको काम सकिएको निर्माण कम्पनीले जनाएको छ । सिङ्गल स्पानको ५७८ मिटर लामो उक्त पुल सम्भवत एसियाकै लामो दावी गरिएको छ ।

पर्वतको कुश्मा नगरपालिका वडानं. १ पाङ र बागलुङ नगरपालिका वडा नं. १ लाई जोड्नेगरी कालीगण्डकी नदी माथि बनाइएको पुल निर्माण सकिएको थानी÷विएलटी÷हिमशिखर कन्ट्रक्सनका आधिकारीक प्रतिनिधि नरहरी खड्काले जानकारी दिनुभयो । लठ्ठा तान्ने मेसिन नहुँदा असम्भव मानिएको उक्त पुल निर्माणका लागि लठ्ठा तान्ने मेसिन खरिद गरेपछि निर्माण सहज भएको छ । पुल निर्माणका लागि लठ्ठा र लठ्ठा तान्ने मेसिन मन्त्रालयबाट प्राप्त भएपछि छ करोड ९१ लाख रुपियाँमा ठेक्का सम्झौता गरी पुल निर्माण गरिएको खड्काले जानकारी दिनुभयो ।
मादीमा मोटरेवल पुल निरन्तर
कास्की समाचारदाता तारा चापागाईका अनुसार गण्डकी प्रदेश सरकार मातहतमा रहेको मादी गाउँपालिकाको महत्वपुर्ण योजना मध्येको एक मादी नदी ज्याम्दु मोटरेवलपुलको काम लकडाउनमा पनि जारी रहेको छ । निर्माण कम्पनी मृत सञ्जीवनी निर्माण सेवाका प्रतिनिधि चिरञ्जिवि पोखरेलले पुलको ढलानको काम सकिएकोले बिरगंज र हेटौडाबाट आउनुपर्ने सामग्री ल्याउन सकियो भने जेठ महिना भित्र निर्माण सम्पन्न गर्ने बताउनुभयो । अहिले दैनिक २२ जना मजदुरले काम गरिरहेको पोखरेलले जानकारी दिनुभयो । मादी वडा नं ७ र ३ जोड्ने उक्तपुल ८२.५ मिटर लामो हुने र प्रि स्टे«सड प्रविधिमा निर्माण हुने गण्डकी प्रदेशका पूर्वाधार विकास कार्यालयका इन्जिनियर सुमन गिरीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?