logo
२०८१ मंसिर १२ बुधवार



लकडाउन प्रभावकारी बनाउन स्वास्थ्य सुरक्षासहित प्रहरी सडकमा सक्रिय

खुला |


लकडाउन प्रभावकारी बनाउन स्वास्थ्य सुरक्षासहित प्रहरी सडकमा सक्रिय


धीरेन्द्रप्रसाद साह
राजविराज, बैशाख ११ गते । कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिन नदिन जारी लकडाउनलाई प्रभावकारी बनाउन सप्तरी प्रहरी स्वास्थ्य सुरक्षासहित सडकमा सक्रिय भएका छन ।
प्रहरीले स्वास्थ्य सुरक्षा सामग्री सहित जनचेतना जागृत गर्दै जिल्लाका सडकहरुमा अहोरात्र खटिने गरेको पाइन्छ । सामान्य रुपमा सम्झाइ बुझाइ गर्दा अटेर गर्न थालेपछि लकडाउनको पूर्ण पालना गराउन सप्तरी प्रहरीले पीआरटी र आरआरटी टोली परिचालन गरेर सडकमा सक्रिय पारेकोे छ ।

अत्यावश्यक काम बिना सडकमा हिडडुल गर्नेहरुलाई पीपीईसहित परिचालित प्रहरी टोलीले मानिस समात्ने (म्यान क्याचिङ्ग) उपकरण प्रयोगमा ल्याएका छन । यसको प्रयोगले मानिसलाई केहीबेर नियन्त्रणमा लिएर सम्झाइ–बुझाइ फिर्ता पठाउने कार्य तीब्र पारेपछि लाज र डरले पनि बिना कारण हिडडुलमा कमि आएको देखिन्छ ।

यससँगै लकडाउनको नियम उल्ंघन गर्नेहरुलाई ठाउँको ठाउँमा उभ्याएर लकडाउनमा पालना गर्नुपर्ने नियमको बारेमा सम्झाएर अब उपरान्त लकडाउन उल्ंघन नगर्ने प्रतिबद्धतापछि छाडिने गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिनुभयो । कोरोना भाइरस संक्रमण र लकडाउनको विषयलाई गम्भीरतापूर्वक नबुझिदिएकाले प्रहरी स्वास्थ्य सुरक्षा सामग्रीसहित थप कडा रुपमा उत्रिनु परेको उहाँको कथन छ ।

प्रहरी पनि आम जनताको हितमा कडाइ गर्न लागेको बताउँदै उहाँले राजविराज नगरसहित जिल्लाका विभिन्न चोकहरुमा बिना कामले हिडडुल गर्नेहरुलाई मानिस समात्ने उपकरणले नियन्त्रणमा लिएर पहिलो चरणमा लकडाउनमा पालना गर्नुपर्ने नियमबारे जानकारी दिई सम्झाई–बुझाई पठाउने कार्यलाई निरन्तरता दिएको बताउनुभयो ।

लकडाउनमा सामाजिक दूरी कायम राखेर नियम उल्ंघन गर्ने व्यक्तिहरुलाई नियन्त्रणमा लिनको लागि यस्तो उपकरण प्रयोगमा ल्याइएको उहाँले जानकारी दिदै जिल्ला प्रहरी कार्यालय मातहतका सवारी साधन उपलब्ध भएका इकाइहरुमा पीपीआर, उपकरण सहितको टोली परिचालन गरिएको प्रहरी उपरीक्षक प्रसाइँले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?