डिलबहादुर सिंह
डोटी,वैशाख १४ गते । डोटी जिल्लाका ग्रामीण क्षेत्रमा कोरोना सङ्क्रमणको त्रास कम हुदै गएको छ । कामका लागि भारत गएका स्थानीय ब्यक्तिहरु भारतमा कोराना भाइरसको सङ्क्रमण हुन सक्ने डरले घर फर्किए सँगै ग्रामिण क्षेत्रमा कोराना भाइरसको संक्रमणको त्रास बढेको थियो । भारतबाट फर्किएकाहरुलाई स्थानीय तहहरुले क्वारेन्टाइनमा राखेर कोरोना सँक्रमण भए नभएको एकिन गर्न पिसिआर र आरडिटी बिधि मार्फत परिक्षण गरिएकोमा परीक्षण गरिएकाहरु सबैको रिपोर्ट नेगेटिभ आएकोे छ ।
कोरोना भाइरसको सङ्क्रमण भए नभएको यकिन गरिएसँगै त्रासमय बनेको ग्रामीण क्षेत्रको जीवनशैली सहज बन्दै गएको छ । ग्रामीण क्षेत्रका बासिन्दाहरु गहुँ भित्राउनमा ब्यस्त देखिन्छन । दैनिक ज्यालादारीमा काम गर्नेहरु समेत काम गर्न थालेका छन् ।
डोटीको पुर्वीचौकी गाउँपालिका १ साझघाट खोलामा गिट्टी कुट्दै गरेकी स्थानीय हेमा भण्डारीले भन्नुभयो –‘भारतबाट गाउँमा आएकाहरुमा पनि रोग छैन भन्ने छ त्यही भएर कामकाजमा आयौं, केही पैसा आर्जन पनि हुने ।’
दैनिक गाईगोरु चराउनु पर्ने, घाँसदाउरा गर्नै पर्ने र पानि लिन घण्टौ हिड्नु पर्ने जस्ताका कामका कारण पनि ग्रामीण क्षेत्रमा लकडाउन प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको छैन । बिभिन्न स्थानीय तहहरुले सँकलन गरेको तथ्याँक अनुसार डोटी जिल्लामा २०७६ चैत महिनामा मात्रै ३ हजार ९४५ जना घर फर्किएका छन् । जिल्ला स्वास्थ्य कार्यालय डोटीका अनुसार १ हजार ४८४ जनाको आरडटी र ३३० जनाको स्वाब परिक्षण गरिएको छ ।
लकडाउनपछि भारतबाट फर्किएका ३ सय ५ जनालाई क्वारेन्टाइनमा राखिएकोमा सबैलाइ घर पठाइसकिएको छ । सायल गाउँपालिका ५ का स्थानीय केशवराज उपाध्यायका अनुसार भारतबाट फर्किएकाहरुका कारण केहिदिन गाउँघरमा त्रास फैलिए पनि पछिल्लो अवधिमा सहज बन्दै गएको छ । स्थानीय तहहरुले समेत क्वारेन्टाइनमा राखिएकाहरुलाई घर पठाए सँगै समुदाय स्तरमा जनचेतनामूलक कार्यक्रम, राहत बितरण, भारतबाट फर्किएकाहरुलाइ पत्ता लगाएर आरडिटी गर्ने लगायतका कामहरु गर्दै आएको छ । सायल गाउँपालिका अध्यक्ष तेजबहादुर डुम्रेलका अनुसार गाउँपालिकाका बिभिन्न वडाहरुमा जनचेतना, सँक्रमण भए नभएको परीक्षणमा तिब्रता दिईएका कारण त्रास कम हुदै गएको छ ।