भैरहवा समाचारदाता
भैरहवा, बैशाख १३ गते । भारतीय क्वारेन्टाइनमा रहेका थप ११२ नेपाली नेपाल फर्केका छन् । उनीहरु शनिबार नेपाल फर्केका हुन् । भारतको विभिन्न स्थानमा काम गरिरहेका नेपालीहरु लकडाउन अवधिमै कोरोना भाइरसको त्रासको कारण नेपाल आउन खोजेकोले उनीहरुलाई भारतको नौतनवामा रहेको विभिन्न तीन स्थानमा क्वारेन्टाइनमा राखिएको थियो । भारतीय क्वारेन्टाइनमा ३ सय ४० नेपाली थिए ।
शुक्रबार र शनिबार गरी दुईसय १५ जनालाई भारतबाट नेपाल भित्र्याइएको छ । प्रदेश नम्बर ५ का प्रदेशसभा सांसद सन्तोष कुमार पाण्डेयले अव बाँकी रहेकालाई पनि स्वास्थ्य परीक्षण गरी ल्याइने बताउनुभयो । नेपालीहरु स्वदेश फर्कने वातावरण सिर्जना हुनु राम्रो कार्य भएको पाण्डेयले बताउनुभयो ।
उनीहरुलाई नाकामा कोरोना संक्रमणको आरडीटी परीक्षण गरेर मात्र मुलुक प्रवेश गराइरहेको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोलर निरीक्षक केदारनाथ शाहले जानकारी दिनुभयो । क्वारेन्टाइनमा रहेका सबैलाई एकैपटक ल्याएर परीक्षण गर्न कठिन हुने भएपछि उनीहरुलाई तीन चरणमा नेपाल ल्याउन थालिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले बताउनुभयो ।
भारतमा रहेका नेपालीहरुलाई १४ दिनको क्वारेन्टाइनमा राख्ने भनिएको थियो । १४ दिनकोे अवधि पुगे पनि उनीहरुलाई नेपाल आउन नदिएपछि नेपालीहरु आक्रोशित भएको थिए । दुई देशको जिल्ला प्रमुखहरु तथा प्रदेशसभा सांसद सन्तोष कुमार पाण्डेयको समन्वयमा नेपालीहरु नेपाल फर्किएका हुन् । नेपाल आएका नेपालीहरुलाई सिद्धार्थनगर नगरपालिकामार्फत बेलिहयाका युवाहरुले खाना खुवाएको नगर प्रमुख हरि प्रसाद अधिकारीले बताउनुभयो ।
शनिबार नेपाल फर्केकाहरु अर्घाखाँची, गुल्मी, पाल्पा लगायत जिल्लाका रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता खड्क बहादुर खत्रीले बताउनुभयो ।