जनार्जन खत्री
सर्लाही, बैशाख १४ गते । सर्लाहीको धनकौल गाउँपालिकामा कोरोना भाईरस (कोभिड–१९) संक्रमित बालकका परिवार सहित २६ जनाको थ्रोट स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीका अनुसार धनकौलमा स्वाब सङ्कलन गरेर पीसीआर विधीबाट परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाण्डौं पठाइएका सबै २६ जनाको रिपोर्ट नेगेटिभ आएको हो । सर्लाहीको अत्यन्त जोखिम ठानिएको धनकौलँबाट सङ्कलन गरिएका सबै स्वाबको रिर्पोट नेगेटिभ अर्थात कोरोना नरहेको भनेर आएपछि खुशी तुल्याएको प्रमुख जिल्ला अधिकारी जिसीले बताउनु भएको छ ।
गत शुक्रबार विश्व स्वास्थ्य सङ्गठन, नेपाली सेना लगायत सुरक्षा निकायका स्वास्थ्यकर्मीहरुको टोलीले दिनभर लगाएर धनकौल सहित जिल्लाका विभिन्न स्थानबाट ११६ जना सर्वसाधारणको स्वाब सङ्कलन गरेर परीक्षणका लागि काठमाडौं लगेको थियो । कोरोना भाईरस पोजेटिभ देखिएका बालकका परिवारका सदस्य एवं ती बालकसँग नजिकबाट सम्पर्क भएको आशङ्का गरिएका सर्वसाधारणहरु तथा लकडाउन छिचोल्दै भारतबाट छिर्न सफल विभिन्न पालिकाहरुको क्वारेन्टाईनमा बसेका सर्वसाधारणको स्वाब सङ्कलन गरेर पठाइएको प्रमुख जिल्ला अधिकारी जिसीले बताउनु भएको छ ।
धनकौल बाहेक चन्द्रनगर गाउँपालिकाको क्वारेन्टाईनमा राखिएका ७५ जना तथा ईश्वरपुर नगरपालिकाको क्वारेन्टाईनमा राखिएका १५ जनाको स्वाब सो टोलीले सङ्कलन गरेर लगेको छ । चन्द्रनगर र ईश्वरपुरको क्वारेन्टाईनमा राखिएकाहरुको स्वाबको रिपोर्ट भने नआईसकेको प्रमुख जिल्ला अधिकारी जिसीले बताउनुभयो ।
यो सहित सर्लाहीबाट ११८ जना सर्वसाधारणको स्वाब परीक्षणका लागि सङ्कलन भईसकेको छ । यसअघि नै धनकौलका कोरोना संक्रमित १४ वर्षीय बालक तथा गत विहिबार ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) पोजेटिभ देखिएका ईश्वरपुर नगरपालिका–९ रामनगरका एकजनाको पनि प्रादेशिक अस्पताल जनकपुरबाट स्वाब संकलन गरेर परीक्षणका लागि काठमाडौंको टेकु अस्पताल पठाईएको छ ।