सञ्जय कुमार मिश्र
गौर,बैशाख १५ गते । कोरोना भाईरसको कारण लाकडाउनको समयमा राजधानी काठमाण्डौमा रहेका व्यक्तिहरुलाई घर ल्याउनमा रौतहटका स्थानीय निकायहरुले उत्सुकता देखाएको छ ।
विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण रोकथाम तथा नियन्त्रणकालागि सरकारले गरेको लाकडाउनको समयमा कामधन्दाहरु बन्द भई जिवनयापनमा समस्या भएपछि स्थानीय निकायको पहलमा घर फर्कन थालेका हुन ।
रौतहट जिल्लामा १८स्थानिय निकाय मध्ये अधिकांश पालिकाले राजधानीमा रहेका आ–आफनो नगरवासीलाई बस पठाएर घर ल्याउनमा पहल गरेका छन । राजधानीबाट आएका व्यक्तिहरुको तथ्यांक संकलन गरी स्वास्थ्य परीक्षण गरी घरमै होम क्वारेन्टाइन बस्ने गरी घर पठाइएको छ ।
जिल्लाको ईशनाथ नपाले पहिलो चरणमा महिला ,पुरुष तथा बालबालिका गरी ८५जना तथा दोश्रो चरणमा राजधानीबाट नगरवासीलाई ल्याउन बस राजधानी पठाइएको निप्रमुख प्रशासकिय अधिकृत नन्द किशोर गुप्ताले बताउनुभयो ।
परोहा नपाले १४०जना व्यक्तिलाई राजधानीबाट ल्याईएको तथा स्वास्थ्य परीक्षण गरी होम क्वारेन्टाइन पठाइएको प्रमुख प्रशासकिय अधिकृत ओम प्रकाश यादवले बताउनुभयो । आरडिटि किटको अभावमा उनीहरुको तथ्यांक नामावली संकलन गरी घर पठाइएको किट प्राप्त भएपछि परीक्षण गरिने प्रमुख प्रशासकिय अधिकृत यादवले जानकारी दिनुभयो ।
यस्तै माधवनरायण नपाले ११०जना ,गरुडा नपाले ७५जना व्यक्ति ,वृन्दावन नपाले ७२जना गढीमाई नपाले १२०जना ,दुर्गाभगवती गाउँपालिकाले १११जना लगायतका पालिकाहरुले अआफनो नगरवासीलाई बस पठाएर राजधानीबाट ल्याएका सम्बन्धित निकायले जनाएको छ ।
रोजगारी लगायत विभिन्न कामको सिलसिलामा राजधानी काठमाण्डौ रहेका तर कोरोना भाईरसको कारण मुलुक लाकडाउनको अवस्थाबाट गुज्रिरहदा कामधन्धा बन्द भई खान लाउन धौ धौ परिरहेकाले पटक पटक गुहार लगाएपछि गाउँपालिकाले २वटा बस पठाएर १११जना व्यक्तिलाई ल्याइएको दुर्गाभगवती गाउँपालिकाका अध्यक्ष अरुण कुमार साहले बताउनुभयो ।
राजधानीबाट ल्याइएको व्यक्तिहरुको स्वास्थ्य परीक्षण गरी घरमै होम क्वारेन्टाईनमा बस्ने गरी घर पठाइएको अध्यक्ष साहले जानकारी दिनुभयो ।लाकडाउनको समयमा बेरोजगार भएर एक महिनासम्म जसोतसो जिवनयापन गरेपनि अब दिनानुदिन ग्राहो हुन थालेकोले उनीहरुको अभिभावकको आग्रहमा बस पठाइ ल्याइएको स्पष्ट पार्नुभयो ।