गोरखापत्र अनलाइन ।
काठमाडौं, वैशाख १५ गते । लकडाउनको समयमा अवैध हतियारको प्रयोग बढेसँगै प्रहरीले नियन्त्रणमा तिव्रता दिएको छ । प्रहरीले विभिन्न जिल्लामा भरुवा बन्दुक तथा अवैध हतियार नियन्त्रणमा सकृयता देखाएको छ । प्रहरीले अवैध रुपमा वन्यजन्तुको सिकार बढेसँगै र त्यसमा घरेलु हतियार प्रयोग भएको देखिएपछि प्रहरीले सकृयता देखाएको हो ।
प्रहरीले यो सातामात्रै सिरहा तथा सिन्धुपाल्चोकमा भरुवा बन्दुृकसँगै केही व्यक्तिलाई पक्राउ गरेको छ । कर्जन्हा नगरपालिका २ बस्ने ३५ वर्षीय सोम बहादुर खप्तडी मगरलाई भरुवा बन्दुक १ थान सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मगरले भरुवा बन्दुक लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बन्दिपुर र ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लोड गरेको अवस्थामा उक्त बन्दुक सहित फेला पारी उनलाई पक्राउ गरको हो ।
कपिलवस्तु, वाणगंगा नगरपालिका ८ मोर्मी बस्ने दुर्गा रेग्मीको गोठबाट भरुवा बन्दुक २ थान आइतबार दिउँसो प्रहरीले बरामद गरेको छ । गोठमा भरुवा बन्दुक रहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उक्त भरुवा बन्दुक फेला पारी बरामद गरेको हो । हाल सम्पर्क विहिन रेग्मीको प्रहरीले खोजी गरिरहेको छ ।
त्रिपरासुन्दरी गाउँपालिका २ लुङगुरपाबाट भरुवा बन्दुक २ थान सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्नेहरु ३९ वर्षीय हिरा बहादुर गुरुङ र ३४ वर्षीय टपिन्द्र बहादुर गुरुङ रहेका छन् ।
घरेलु हतियार प्रयोग गरी उनीहरुले जंगली जनावर मारेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको प्रहरीले उनीहरुको घर तलासी गर्दा टपिन्द्र बहादुरको घरबाट २ थान भरुवा बन्दुक र दुवै जनाको घरबाट मृग जस्तै जंगली जनावरको जस्तो मासु सुकाई राखिएको अवस्थामा फेला पारेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।