logo
२०८१ मंसिर १२ बुधवार



कोरोना अस्पतालको घटना समितिले सत्यतथ्य सार्वजनिक गर्नेछ : कार्यदल

खुला |


कोरोना अस्पतालको घटना समितिले सत्यतथ्य सार्वजनिक गर्नेछ : कार्यदल


शालिग्राम नेपाल 
चितवन, बैशाख १६ गते । भरतपुर कोरोना नियन्त्रण कार्यदल चितवनले कोरोना अस्पतालमा भएको घटना सत्यतथ्य छानविन हुने जानकारी गराएको छ ।

भरतपुर कोरोना नियन्त्रण कार्यदलले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरी अस्पतालको सामग्री ओसार पसारका क्रममा भएको गतिविधि सीसी क्यामरा फुटेज बाहिरीएपछि त्यसबाट उत्पन्न भएको प्रश्नको जवाफ छानविन टोलीले गर्ने जनाएको छ । भरतपुर कोरोना नियन्त्रण कार्यदलका सदस्य सचिव डाक्टर भोजराज अधिकारी द्वारा जारी विज्ञप्तिमा घटनाको विषयमा प्रश्न उठिसकेपछि तीन सदस्यीय छानविन समिति गठन गरिसकेकाले त्यसले ल्याएको प्रतिवेदनलाई सार्वजनिक गरेर सत्यतथ्य पत्ता लगाउने जनाइएको छ ।

सो कोरोना अस्पताल भरतपुर अस्पातलको मातहतमा रहने गरी हस्तान्तरण भइसकेकाले त्यहाँ भएको खर्चको विवरण अनुमोदन समेत भएको जारी विज्ञप्तिमा जनाइएको छ । सामग्री चोरी भएको भनिएको फुटेजका विषय र घटनाको बारेमा चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन भएको छ ।

यसै बीच नेपाली काँग्रेस चितवनले कोरोना अस्पतालका कर्मचारीले सामान चोरेको भनिएकोे घटनाको सत्यतथ्य छानविन गर्न माग गरेको छ । काँग्रेस जिल्ला समितिले मंगलवार चितवनका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउदै घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग गरेको हो ।

काँग्रेसले घटनाको छानविनका लागि सर्वपक्षीय छानविन समिति गठनको माग समेत गरेको छ । विपतको बेला स्थापना गरिएको अस्पतालमा काम गर्न खटाईएका कर्मचारीले सामान अपचलन गरेको भनिएको घटना गम्भिर रुपमा छानविन हुनु पर्नेमा जोड दिएको छ । अस्पतालका लेखापाल फणिन्द्र खनाल, भरतपुर अस्पतालका कर्मचारी सञ्जय बराल र महानगरपालिका स्वास्थ्य शाखाका अधिकृत सूर्य तिवारीले अस्पतालको स्टोरबाट सामान बाहिर निकालेको भिडियो सार्वजनिक भएको थियो ।

उनीहरुलाई तत्काल निलम्बन गर्न माग गरिएको छ ।
नेपाली काग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले घटनाको छानविन सत्यतथ्य बाहिर आउनु पर्ने बताउनु भयो । कोरोना संक्रमितको उपचारका लागि भरतपुर महानगरपालिकाले बनाएको भरतपुर कोरोना अस्पतालको व्यवस्थापन र सञ्चालनको विषयमा यस अगाडिपनि टिप्पणीहरु आएका छन् ।
कोरोना अस्थायी अस्पतालका कर्मचारीबाटै विभिन्न सामग्री चोरी भएको भनिएको सीसी क्यामराले खिचेको फुटेज सोमबार साँझ बाहिरिएको थियो । सो फुटेज विभिन्न सञ्चार माध्यममा आएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?