logo
२०८१ मंसिर १२ बुधवार



लकडाउनको असर खाद्यवस्तुको मूल्य आकाशियो

खुला |


लकडाउनको असर खाद्यवस्तुको मूल्य आकाशियो


धीरेन्द्रप्रसाद साह
राजविराज, बैशाख १६ गते । लकडाउनको मौका छोपी दैनिक उपभोग्य खाद्य्यबस्तुको डेढ गुणा मूल्य बढेको छ । त्यस्तै तरकारीको मूल्य आकाशिएको छ ।  सप्तरीको बजारहरुमा दैनिक उपभोग बस्तुका प्रत्येक चिजमा प्रति किलो ४०÷५० रुपियाँ बृद्धि भएको छ । एकसयमा पाइने खाद्यबस्तु १५० मा पाउन थालेको राजविराज ६ का केदार देवले जानकारी दिनुभयो । खानेतेल, जिरा, धनिया, खुर्सानी, चामल, भूजा, नून, लगायतमा मूल्य बृद्धि भएको उहाँले बताउनुभयो ।

त्यस्तै प्याज, आलु, करेला, रामतोरिया, परबल, बोरी, गोलभेडा, कागती, तरुल, कोबी, बन्धाकोबी लगायत तरकारीको मूल्यम बद्धि भएको अर्का उपभोक्ता प्रदिपकुमार झाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्येक तरकारीमा ३०÷४० रुपियाँ बढी मूल्यमा तरकारी पाइने गरेको बताउनुभयो । तितो करेला रु. १८०, गोलभेडा, रु. ८०, रामतोरिया रु.१५०, परबल रु. १२०, फर्सी रु. १००, बोरी रु. १५०, खरिद बिक्री भइरहेको छ ।

यस अघिसम्म ती तरकारीहरु औषतमा प्रायः रु. ५०–८० मा प्रति किलो खरिद बिक्री हुने गरेको तरकारी व्यवसायी अनिता चौधरीले जानकारी दिनुभयो । लकडाउनमा अति आवश्यक दैनिक उपभोगबस्तु खुला रहने भनिएपनि भीडभाड बढेपछि स्थानीय प्रशासनले बन्द गराएका कारण लुकिछिपी बेच्नु परेको सुनाउँदै उहाँले भन्नुभयो, गाडी चल्न दिएको छैन, हामी पनि लुकीछिपी महँगोमा भाडा तिरेर रातीराती ल्याउने गरेका छौ ।

जिल्लामा तरकारीको पकेट क्षेत्र मानिने मलेठ, बिरेन्द्र बजार, सितापुर, ट्राफिक, कनकपट्टि, कल्याणपुर, कठौना, कोचाबखारी, इटहरी विष्णुपुर, पातो लगायतका स्थानमा उत्पादन भएका तरकारीहरु बजारसम्म पु¥याउन नसक्दा महँगो भएको हो । सवारी साधन नचल्दा र मानिसले घर बाहिर ननिस्किदा तरकारीहरु बजारसम्म पुग्न नसकेको व्यसायीहरु बताउँछन ।

जिल्ला बाहिर सुनसरीको लौकही, इनरुवा, भान्टाबारी, हरिपुर, सिरहाको मिर्चैया, गोलबजार, धनुषाको ढल्केवरबाट आयात हुने तरकारी लकडाउनमा आयात ठप्प हुँदा महँगो भएको अर्का तरकारी व्यवसायी रमेश साहले जानकारी दिनुभयो । त्यसैगरी भारतीय सीमावर्ती कुनौली बजार, लौकही बजार, विरपुर, भीमननगरबाट समेत तरकारी तथा खाद्यान्न आयात हुन नसकेको उहाँले भन्नुभयो, तरकारी र खाद्यान्न आयात नहुदा अभाव भएको र जसोतसो आयात गर्दा खर्च ज्यादै लाग्ने गरेको कारण महँगोमा बेच्नु परेको छ ।

लकडाउनका कारण सहर तथा ग्रामीण स्तरमा लाग्ने साप्ताहिक हाट बजार ठप्प रहेको छ । स्थानीय किसानले उत्पादन गरेको तरकारी घुम्ती तरिकाले छिटफुट रुपमा बेच्ने गरेको पाइन्छ । बिहान र बेलुका नगरका टोल बस्तीको ढोका–ढोकामा पुगेर बेच्ने गरेको छ । यसरी बेच्दा आशातित मूल्य नआउने गरेको किसानहरु बताउँछन ।
किसानले उत्पादन गरेको तरकारी व्यापारीले खरिद गरेपछि ती व्यापारीले खरिद गरेको मूल्य भन्दा दोब्बर तेब्बर महँगोमा बेच्ने गरेको छ । कतिपय किसानको उत्पादित तरकारी बजारसम्म पु¥याउन सहज नहुँदा खेतबारीमै कुहिन थालेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?