मुरारी अधिकारी
धादिङ, बैशाख १७ गते । खनियाबास गाउँपालिकाले आफ्नो पालिकाभन्दा बाहिरबाट आएकाहरुलाई अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने व्यवस्था गरेको छ । बाहिरबाट आउनेहरुबाट निम्तिन सक्ने सम्भावित जोखिम न्यूनिकरणका लागि उत्तरी धादिङको खनियावास गाउँपालिकाले गाउँ भित्रिएकाहरुलाई अनिवार्य क्वारेन्टाइनको ब्यवस्था गरेको हो ।
लकडाउन पश्चात गाउँ भित्रिएकाहरुबाट गाउँबस्तीमा कोरोनाको जोखिम बढ्न नदिनको लागि गाउँपालिकाले क्वारेन्टाइनलाई अनिवार्य बनाएको गाउँपालिका अध्यक्ष रणबहादुर तामाङले बताउनु हुन्छ । देशका विभिन्न ठाउँमा लकडाउनका कारण थुनिएर समस्या भोगेका १ सय ५० नागरिकलाई गाउँपालिकाले आफ्नै खर्चमा उद्धार गरि ५ वटा वडामा संचालित ९ वटा क्वारेन्टाइनमा राखेको छ । लकडाउन लम्विदै जाँदा शहरबजारमा थुनिएर बस्नुपर्दाको पीडा र समस्या गाउँमै आएर बसेको क्वारेन्टाइनले बिर्साइदिएको उद्धार गरिएपछि क्वारेन्टाइनमा बसेका स्थानीयहरु बताउँछन् ।
खनियावास गाउँपालिका प्रवेश गर्ने मुख्यतह दुइवटा नाकाहरु रहेका छन् ।
एउटा नुवाकोटको किम्ताङ गाउँबाट र अर्को धादिङकै नेत्रावती गाउँपालिकाबाट । ती दुवै नाकाहरुमा प्रहरी र स्वास्थ्यकर्मीको संयुक्त टोली खटाइ गाउँपालिका भित्रिन चाहने जोकोहीलाई स्वास्थ्य चेकजाँच गरेर अनिवार्य क्वारेन्टाइनमा बस्ने प्रतिवद्धता पछि मात्रै प्रवेशाज्ञा दिने ब्यवस्था गाउँपालिकाले मिलाएको अध्यक्ष तामाङको भनाइ छ । क्वारेन्टाइमा राखिएकाहरुको सम्पूर्ण खर्च र स्वास्थ्य सुरक्षाको व्यवस्थापन गाउँपालिका आँफैले मिलाएको छ भने उनीहरुको आरडीटी टेष्ट पछि मात्रै घर जान दिइने पालिका अध्यक्षले तामाङले बताउनु भयो । अध्यक्ष तामाङका अनुसार गाउँमा आउनका लागि अनिवार्य क्वारेन्टाइनमा बस्ने प्रतिवद्धता जनाउनु पर्छ ।
उक्त सर्त मान्नेलाई उद्धार गरेर आउने र क्वारेन्टाइनमा बस्ने सबै खर्च पालिकाले नै बेहोर्ने व्यवस्था मिलाएको बताउनु हुन्छ । लकडाउनले थुनिएका जिल्लाबासीको उद्धार गर्ने भन्दै गत बैशाख १२ र १३ गते १२ सय ६५ जना नागरिक धादिङ जिल्लाका विभिन्न क्षेत्रमा भित्रिएका छन् । को–को कहाँबाट आएर कहाँ बसेका छन् भन्ने विषयमा जिल्ला भित्राउन पहल गर्ने साँसद, नेता र जिल्लाका मुख्य सरोकारवाला निकायहरु अनभिज्ञ छन् ।