गोकर्ण दयाल
बैतडी, वैशाख १७ गते । भारतबाट घर फर्किन सीमा नाकामा आईपुगेका मध्ये १६ जना नेपाली महाकाली तरेर दार्चुलाबाट नेपाल प्रवेश गरेका छन् ।
बुधबार बिहान ९ः३० बजे महाकाली तरेर दार्चुला जिल्ला भएर नेपाल प्रवेश गर्ने १६ जना नेपाली मध्ये बैतडीको डिलासैनी गाउँपालिका १४ जना, पुरचौडी नगरपालिकाका एक र अर्का एक जना दार्चुलाका रहेका छन् ।
एक महिनादेखि सीमा नाका भारतीय क्वारेन्टाइनमा रहेका नेपाली घर फर्किने प्रतिक्षामा थिए । नेपाल प्रवेश गर्न कुनै पहल नभएपछि दार्चुला नाका भएर १६ जना नेपाली भारतबाट महाकाली नदीमा जोखिम मोल्दै नेपाल प्रवेश गरेका हुन् ।
महाकाली नदी तरेर नेपाल प्रवेश गर्ने बैतडीको डिलासैनी गाउँपालिकाका सुरेन्द्र नेगी, अम्मर नेगी , प्रेम नेगी, पुष्कर बिष्ट, वीरबहादुर कार्की, खेमराज बोहरा, रमेश बोहरा , ईश्वर नेगी, लोकेन्द्रसिंह भण्डारी, काशी बोहरा, दलबहादुर भण्डारी, वीरसिंह धामी, दशरथ बोहरा, बलवीर बोहरा, बैतडी पुर्चौडी नगरपालिका १० का कर्ण बिष्ट र दार्चुला नौगाड गाउँपालिका –६ का वीरेन्द्र ठगुन्ना रहेका छन् ।
भारतीय क्वारेन्टाइनमा रहेका नेपाली महाकाली तरेर भारतबाट नेपाल प्रवेश गरेको खबर आए पनि कति जना प्रवेश गरे भन्ने पूरा जानकारी आईनसकेको दार्चुलाका प्रहरी प्रमुख (एसपी) दिपेन्द्र शाहीले बताउनुभयो ।
दार्चुलाबाट दैनिक दुई चार जना प्रवेश गरिरहेको बताउँदै दार्चुला प्रहरी प्रमुख शाहीले भारतीय क्वारेन्टाइनबाट महाकाली तरेर नेपाल आएकालाई स्थानीय तहसँग समन्वय गरेर क्वारेन्टाइनमा बसाल्ने गरेको बताउनुभयो ।
बैतडीको झुलाघाट र दार्चुला नाका पारि भारतमा करिब १५ सय नेपाली एक महिनादेखि भारतीय क्वारेन्टाइनमा रहेका छन् । भारतीय क्वारेन्टाइनमा रहेका सबै नेपालीको स्वास्थ्इ अवस्था सामान्य रहेकोले नेपाल सरकारले उद्धार गरि घर फर्काउन पहल गर्नु पर्ने भारतीय क्वारेन्टाइनमा रहेका नेपालीले माग गरेका छन् ।