सिराज खान
नेपालगञ्ज, बैशाख १७ गते । कोरोना परिक्षणका लागि नेपालगञ्जका विभिन्न मस्जिद र मदरसाहरुमा बस्ने मुस्लिम धर्मगुरु, इमाम र विद्यार्थीहरुको स्वाव संकलन शुरु गरिएको छ ।
यसअघि एकसाता अघि मात्र कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर बाँकेले नेपालगञ्जका मस्जिद, मदरसा, मन्दिर, गुरुद्धारा र चर्चमा बस्ने सबै धर्मगुरुहरुको कोरोना परिक्षण गर्ने निर्णय गरेको थियो ।
उदयपुर, बारा र पर्सामा भारतको दिल्लीस्थित तब्लिगी जमातको मर्कजबाट फर्किएका केहीमा कोरोना पोजेटिभ देखिएपछि स्थानीय प्रशासनले नेपालगञ्जका मस्जिद मदरसामा निगरानी बढाएको थियो ।
धार्मिक स्थलमा बस्नेहरुको कोरोना परिक्षण गर्ने निर्णयलाई कार्यान्वयन गर्दै मंगलवार रातीदेखि मुस्लिम धर्मगुरु, इमाम र सहयोगीको स्वाव संकलन शुरु गरिएको छ । सो क्रममा मंगलवार राती फुलटेक्रामा रहेको फैजाने मदिना मस्जिद र मदरसामा रहेका १० जना धर्मगुरुहरुको स्वाब संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
मुस्लिम समुदायको रोजा चलिरहेकोले दिउँसो स्वाव दिन नमिल्ने हुँदा राती राती मात्र स्वाव संकलन गर्ने कार्य गरिरहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बताउनु भयो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार खडका, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख धवल सम्शेर राणा, नेपाली सेनाका कर्णेल नकुल थापा, बाँके प्रहरी प्रमुख एसपी विर बहादुर ओली, सशस्त्र प्रहरीका एसपी दिपक अधिकारी, हिन्दु धर्मगुरु चन्दननाथ योगी, मुस्लिम धर्मगुरु अब्दुलजब्बार मन्जरी लगायतको उपस्थितिमा १० जना मुस्लिम धर्मगुरुहरुको स्वाब संकलन गरेर परिक्षणका लागि भेरी अस्पताल पठाईएको फोकल पर्सन श्रेष्ठले बताउनु भयो ।
नगरका सबै धार्मिकस्थलहरुमा बसोबास गर्दै आएकाहरुको स्वाब संकलन गरिने जानकारी गराउँदै बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले मस्जिद, मदरसा, मन्दिर, गुरुद्धारा, गुम्बा र चर्चमा रहेकाहरुकोे स्वाब संकलन गरिने बताउनु भयो ।
सो कार्यमा मुस्लिम समुदायका धर्मगुरुहरु लगायत सबै धर्मका गुरुहरुको राम्रो सहयोग प्राप्त भैरहेको पनि उहाँले बताउनु भयो । नेपालगञ्जका प्रसिद्ध मुस्लिम धर्मगुरु अब्दुल जब्बार मन्जरीले कोरोनाबाट समुदाय, समाज, नगर र देशलाई जोगाउनका लागि हरेक प्रकारको सहयोग गर्न तयार रहेको बताउनु भयो ।
सोही प्रकारले बागेश्वरी मन्दिरका मुलमहन्त योगी चन्दननाथले महामारी कुनै धर्म विशेषलाई मात्र नहुने जनाउँदै बाँकेमा हिन्दु मुस्लिम सिख ईसाई सबैले मिलेर एकतावद्ध भै सो रोग विरुद्ध संघर्ष गरिरहेको बताउनु भयो ।