logo
२०८१ मंसिर १२ बुधवार



पर्याप्त ढुवानी नहुँदा सर्लाहीको नारायणखोलामा खाद्यान्न अभाव

खुला |


पर्याप्त ढुवानी नहुँदा सर्लाहीको नारायणखोलामा खाद्यान्न अभाव


जनार्जन खत्री
सर्लाही, बैशाख १८ गते । सर्लाहीको ‘कर्णाली’ मानिने जिल्लाकै अति विकट क्षेत्र नारायणखोलामा लकडाउनपछि पर्याप्त खाद्यान्न ढुवानी नहुँदा स्थानीय वासिन्दा समस्यामा परेका छन् ।

चुरेभेगस्थित लालबन्दी नगरपालिका वडा नं. १४ (साबिकको नारायणखोला गाविस) मा लालबन्दी बजारदेखि पर्याप्त खाद्यान्न ढुवानी हुन सकेको छैन् । केही व्यवसायीले ट्याक्टर र जीपमा थोरै मात्रामा खाद्यान्न ढुवानी गर्दै आएपनि एक साताअघि बाट पटक–पटक भएको वर्षाले खोलाको बाटो बिगारेपछि समस्या भइरहेको स्थानीय युवा शङ्कर तामाङले गुनासो गर्नुभयो ।

सडक सञ्जालमा नजोडिएको नारायणखोलाबाट किनमेल वा औषधोपचार गर्न लखन्देही खोलाको बगर हुँदै लालबन्दी बजारसम्म आउनु पर्ने बाध्यता छ । पाखो बारीमा उब्जिएको अन्नबालीले केही महिना मात्रै खान पुग्ने नारायणखोलाका स्थानीयले धेरैजसो महिना किनेरै खाने गरेका छन् ।

नारायणखोलाका वडाध्यक्ष सुबाईसिंह ब्लोनले अभाव नै नभएपनि पहिलेकै परिमाणमा खाद्यान्न ढुवानी नहुँदा समस्या पर्न थालेको बताउनुभयो । ब्लोनका अनुसार खाद्यान्न बिक्री गर्ने बजार क्षेत्रका अधिकांश उद्योग तथा पसल व्यवसाय नखुल्दा पनि नारायणखोलामा पसल व्यवसाय गर्ने व्यवसायीले चाहेर पनि पर्याप्त खाद्यान्न ढुवानी गर्न सकेका छैनन् । नारायणखोलामा लकडाउनपछि समस्यामा परेका मजदुर तथा अति विपन्न ८९ परिवारलाई पहिलो चरणको राहत वितरण गरिसकिएको छ ।

दोस्रो चरणको राहत वितरण गर्न पुनः लगत सङ्कलन गर्दा ६९६ परिवार पुगेका छन् । सो विवरण वुधवार मात्रै नगरपालिका कार्यालयमा बुझाइएको वडाध्यक्ष ब्लोनले बताउनुभयो । एक महिना भन्दा बढीको लकडाउनले घरमा खाने अन्न सकिएको भन्दै राहतको माग गर्ने परिवार बढेका वडाध्यक्ष ब्लोनले जानकारी दिनुभयो ।

यसैगरी सडक सञ्जालमा नजोडिएको लालबन्दी नगरपालिका–१५, साबिक परवानीपुरको चुरे क्षेत्र तथा ईश्वरपुर नगरपालिका–१२, साबिक कालिन्जोर गाविसको चुरेभेगमा पनि खाद्यान्नको समस्या हुन थालेको स्थानीय वासिन्दाले बताएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?