विष्णुप्रसाद पोखरेल
दमक, वैशाख १८ गते । भारतसंग सिमा जोडिएको झापाको मेची नगरपालिकाले अनाधिकृत रुपमा बाहिरबाट नगरभित्र पस्नेलाई पक्राउ गरेर १५ दिन क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ । नगरपालिकाका प्रमुख विमल आचार्यका अनुसार विना अनुमति र काम बेगर कोहि प्रवेश गरेमा यो नियम लागु हुनेछ ।
यो जोखिमको समयमा पाहुना ल्याउने, बाहिरबाट आएर बस्ने कार्यले स्वास्थ्य असुरक्षा पैदा हुने ठहर गरेर यो निर्णय गरेका हौ, उहाँले भन्नुभयो । जुन वडामा नयाँ मान्छेको आगमन हुन्छ त्यहि वडाको क्वारेन्टाइनमा उनिहरुलाई राखिने र यसका लागि वडाध्यक्षहरुलाई निर्देशन दिईएको पनि बताईएको छ । क्वारेन्टाइनमा खान र बस्नको लागि आवश्यक बन्दोबस्ति त्यस्ता ब्याक्ति आफैले गर्नुपर्नेछ, आचार्यले भन्नुभयो ।
अनाधिकृत रुपमा प्रवेश गर्नेको खर्च नगरपालिकाले बेहोर गर्दैन, उहाँले भन्नुभयो । यस कार्यका लागि वडा कार्यालयहरुलाई क्वारेन्टाइस्थल तोक्नका लागि पनि नगर कार्यपालिका बैठकले निर्देशन दिएको जानकारी गराईएको छ । नजिक रहेको भारतमा महामारीको रुपमा लिएको कोरोना संक्रमणले हामी जोखिममा छौ र समयमा नै सचेतता नअपनाए गम्भिर संकटमा फस्न सक्छौ, आचार्यले भन्नुभयो ।
नगरपालिकाले बाहिरबाट फलफुल, सागपात लगायतका माछामासु ल्याएर विक्री वितरणमा पनि रोक लगाएको छ । संक्रमित क्षेत्र तथा संक्रमित ब्याक्तिले छोएको यस्ता सामाग्रि आउनसक्ने भन्दै यस्तो निर्णय भएको नगरपालिकाले जनाएको छ । मुख्य मेची भन्सार कार्यालयबाट ल्याउन प्रतिबन्ध गरिएपछि बिभिन्न चोरबाटो भएर भारतबाट फलफुल तथा सागसब्जी आउने गरेको थियो ।