logo
२०८१ मंसिर १२ बुधवार



लकडाउनमा किसानलाई खेतीपातीको चटारो

खुला |


लकडाउनमा किसानलाई खेतीपातीको चटारो


कैलाश लामा
चरिकोट, दोलखा बैशाख १८ गते । कोरोना भाइरस संक्रमणको संभावित जोखिमबाट बच्नका लागि गरिएको लकडाउनले जिल्लाका मुख्य बजारहरुमा आर्थिक गतिविधि ठप्प भएको छ भने जनजीवन कष्टकर बन्दै गएको छ । सवारीसाधन र आवतजावत बन्द भएको छ र शहर, बजारको चहलपहल लगभग शुन्य जस्तै भएको छ । तर ग्रामीण भेगमा भने चहलपहल व्यापक छ ।

लकडाउनका कारण गाउँ पसेकाहरुको गतिविधि त छदैछ तर खेती किसानिबाट जीवन गुजारा गर्नेहरुका कारण पनि गाउँमा लकडाउनको खासै प्रभाव पारेको छैन।
यतिखेर किसानहरु घास,दाउराका लागि दैनिक उकाली ओराली गर्दै बनजंगल धाउने, गाईबस्तु चराउने देखि खेतीपातीमा व्यस्त छन् ।

‘गाउँ वस्तिमा अहिले खेतीपातीको चटारो छ ।’ भीमेश्वर नगरपालिका वडा नम्बर–९ फुलबारीकी मिठु तामाङले भन्नुभयो ,‘किसानहरुलाई हिउदे अन्न बालि भित्र्याउनुका साथै तरकारी, सागपात र बर्खे खेती गर्न भ्याईनभ्याई छ ।’

नोभल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले समेत तत्कालै लगाउनुपर्ने र उठाउनुपर्ने बाली लगाउने र उठाउने कार्य गर्न दिने भनेपछि किसाहरु अहिले खेतबारीमा संघर्षरत छन् ।
मानो खाएर मुरी उब्जाउने समय सुरु हुन लागेकाले गाउँका खेतबारीमा मकै रोप्ने, आलु गोड्ने, गहुँ काट्ने, कोदोको बिउ राख्ने काममा अफुहरु व्यस्त रहेको बैत्यश्वर गाउँपलिका–२ गैरीमुदीका किसान ललित बहादुर बस्नेत बताउनुहुन्छ ।

‘एकआपसमा अर्मपर्म गरेर खेतबारीमा बालीनाली लगाउने परम्पराले गाउँमा खेतालाको आवश्यकता पनि नभएको र मजदुरीका लागि शहर छिरेकाहरु गाउँ फर्कन थालेपछि गाउँमा वर्षौदेखि बाझो छाडिएको खेतबारीमा समेत बाली लगाउने कार्यहरू भइरहेको छ ।’ उहाँले भन्नुभयो ।

दुई हजार एक सय ९१ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको दोलखामा २६ दशमलब ४५ क्षेत्रफलमा कृषि खेती हुने गरेको तथ्याङ्क पाइन्छ । कृषि उपजले गाउँ वस्तिलाई आत्मनिर्भर बनाएको छ भने उत्पादित कृषि उपजलाई शहर, बजारमा समेत बिक्रीवितरण गरिने भएको हुँदा किसानलाई आर्थिक लाभ समेत हुने गरेको छ । चाँडपर्वका बेला मात्रै घर फर्कने र घुमघाममै बढी समय व्यतित गर्ने छोराछोरी र आफन्तले समेत लकडाउन भए पछि खेतबारीमा समय दिन थालेपछि किसानहरु हर्षित भएका छन् ।

किसानहरुलाई लकडाउनकै अवस्थामा पनि स्थानीय सरकारले साथ सहयोग गरेको उल्लेख गर्दै जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेले किसानहरुले सुरक्षित तरिकाले बालि लगाउने र उठाउने काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले यस्तो कार्य गर्दा न्यूनतम भौतिक दुरी कायम गर्नुपर्ने, मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने र नियमित रुपमा साबुनपानीले हात धुन सके महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणबाट बचेर कृषि उत्पादन गर्नमा सफल हुने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?