मनोज भट्टराई
ओेखलढुंगा, बैशाख १८ गते । ओखलढुंगामा मकैबालीलाई फौजीकीराले सखाप बनाउन थालेको छ । अघिल्लो वर्ष खडेरीको मारमा परेका किसान अहिले फौजीकीराको आक्रमणमा परेका हुन् ।
मकैको विरुवामा फैजी किराको संक्रमण देखिएपछि कृषकहरु चिन्तित बनेका छन् । गतवर्ष जिल्लाका केही स्थानीय तहहरुमा मात्रै देखिएको प्रकोप अहिले जिल्लाका धेरै स्थानीय तहहरुसम्म फैलिएको छ । पछिल्लो समय ओखलढुङ्गा जिल्लाका मानेभञ्ज्याङ्ग, चम्पादेवी, सुनकोशी, चिशंखुगढी गाउँपालिका तथा सिद्धिचरण नगरपालिकाको मकैबाली लगाईएको क्षेत्रमा फौजीकिराको प्रकोप बढेको पाईएको छ । हालसम्म ओखलढुंगाको लिखु गाउँपालिका र खिजिदेम्बा गाउँपालिकामा भने यासको प्रकोप देखिएको छैन ।
गाउँमा किराको प्रकोप नरहेको भएपनि वल्लोपल्लो गाउँमा मकैमा किरा लागे पछि किसानहरु त्रसित भएका छन् । किराले मकै धेर खाएको चम्पादेवी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष बलबहादुर तामाङले जानकारी दिए । गोड्ने बेलाको मकै कीराले खाएर नष्ट गरेको भन्दै किसानको दिनहुँ गुनासो आउने गरेको तामाङको भनाई छ ।
गोड्ने बेला भएको मकैहरुमा किराले अत्याधिक मात्रामा आक्रमण गरि क्षति पुर्याएको कृषक चम्पादेवी गाउँपालिका वडा नं. ४ फेदीगुठकी शुसिला कार्कीले बताउनु भयो । गोड्ने बेला भएको मकैबालीमा फौजी किरा देखिदा बाली सखाप पार्ने त्रास भएको उहाँका भनाई छ । चिसंखुगढी गाउँपालिकामा गाउँपालिकाको कृषि शाखा मार्फत अध्ययन थालिएको गाउँपालिका अध्यक्ष निशान्त शर्माले जानकारी दिनुभयो । ओखलढुंगामा गत वर्ष सुनकोसी गाउँपालिका, सिद्धिचरण नगरपालिका, चिशंखुगढी गाउँपालिका र मानेभञ्ज्याङ गाउँपालिकाका केही क्षेत्रमा फौजी किराले हिँउदे मकै सखाप पारेको थियो । मकैमा फौजी किराको प्रकोप देखिए पछि मानेभञ्ज्याङ्ग गाउँपालिकाले नियन्त्रणको तयारी थालेको जनाएको छ । कृषि ज्ञान केन्द्र ओखलढुङ्गा मार्फत विषादी झिकाएर फौजी किराको प्रकोपलाई नियन्त्रणको प्रयास भैरहेको मानेभञ्ज्याङ्ग गाउँपालिकाका जनाएको छ ।ंं
जिल्लाका अधिकांश स्थानीय तहहरुमा फैजी किराको प्रकोप रहेको जानकारी आएकोले प्रकोप नियन्त्रणका लागि विशेष तयारी थालिएको कृषि ज्ञान केन्द्र ओखलढुङ्गाका प्रमुख विष्णुमणी पोखरेलले बताउनु भयो । किरा प्रकोप क्षेत्रको पहिचान गरी विषाधी र उपकरण सहित प्राविधक विशेषज्ञ टोली पठाईएको प्रमुख पोखरेलको भनाई छ । जिल्लाका अन्य स्थानहरुमा समेत किराको प्रकोप देखिएमा कृषि ज्ञान केन्द्र ओखलढुङ्गामा जानकारी दिन प्रमुख पोखरेलले आग्रह गर्नुभएको छ ।