logo
२०८१ मंसिर १२ बुधवार



संक्रमितको शव व्यवस्थापन सम्बन्धमा नेपाली सेनाको पूर्व अभ्यास

खुला |


संक्रमितको शव व्यवस्थापन सम्बन्धमा नेपाली सेनाको पूर्व अभ्यास


धीरेन्द्रप्रसाद साह
राजविराज, बैशाख १८ गते । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट बच्न बचाउन र संक्रमित व्यक्तिको उपचार बारे प्रायजसो धेरैलाई थाहा भइसकेको छ । तर, यसैको कारण कसैको मृत्यु भएमा शबको व्यवस्थापन कसले कसरी गर्ने भन्ने विषयमा प्रश्नहरु उब्जिरहेको छ ।

कोरोना महामारी फैलिएपछि मर्नेको अनगिन्ती संख्या बढ्न सकिने र यसको सही ढंगले उचित व्यवस्थान गर्न नसकिएमा झन महामारी फैलिने र नियन्त्रण गर्न ठूलो चुनौतीको सामना गर्नुपर्ने भएको हुँदा यस्तो अवस्था आउन नदिने नेपाली सेनाले यसको पूर्व तयारी गरी बिहीबार प्रदर्शन गरेको छ ।

कोरोना महामारी तथा बढ्दो संक्रमित संख्यालाई मध्यनजर गर्दै विषम परिस्थितिमा मृतकको संख्या बृद्धि भई भयावह स्थिति सृजना भएमा शबको व्यवस्थापन कसरी गर्ने विषयवस्तुमा केन्द्रित भएर नेपाली सेना श्रीमध्य पूर्वी पृतनाले पूर्व तयारीको सो प्रस्तुती गरेको छ ।

राजविराजको राजरंगशालामा करिब ३० मिनेटको प्रस्तुतीमा पेइसेन्ट रिसिभिङ्ग टीम(पीआरटी) ले शंकास्पद संक्रमितलाई भेट्दा, संक्रमित मृतकको शरीर व्यवस्थापन, एम्बुलेन्स तथा सवारी साधनलाई डिसइन्फेक्ट गर्ने, यस कार्यमा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मीले अपनाउने व्यक्तिगत सुरक्षामा केन्द्रित रहेको थियो ।
प्रस्तुतीमा रातो, निलो, हरियो जोन निर्धारण गरी संभावित संक्रमित र संक्रमणबाट मृत्यु भएको व्यक्तिको तथ्याकं, मुचुलका, परिवारको सहमति, परिवारको सदस्यलाई शान्तवना, दाहसंस्कार गर्नु

अघि शब उठाउँदा र संस्कारका बेला अपनाउनु पर्ने सावधानी, मृतक बसेको स्थान(घर)को डिसइन्फेक्ट लगायतको कुरा समेटिएको थियो । शव व्यवस्थापनमा खटिएका नेपाली सेनाले व्यक्तिगत स्वास्थ्य सुरक्षाका लागि विभिन्न छ प्रकारका पीपीई प्रयोग गरिएको थियो ।  वास्तविक परिस्थितिमा सुरक्षा निकायबीच गरिने कारबाहीमा एकरुपता ल्याउन मद्दत पुग्ने उद्देश्यले प्रस्तुती गरिएको सेनानी माधव थापाले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?