स्याङ्जा, बैशाख १९ गते । कोरोनाको महामारी फैलिरहदाँ गण्डकी प्रदेश, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले गल्याङ् बजारको अनुगमन गरेको छ । गण्डकी प्रदेश कार्यालयबाट आएको टोलीले बजार अनुगमन गरेको हो ।
कार्यालयका निर्देशक गोकुल शर्मा पौडेलको नेतृत्वमा आएको टोलीले गल्याङ बजारमा विभिन्न पाँच वटा किराना, फलफुल तथा तरकारी पसलको अनुगमन गरेको हो ।
अनुगमनको क्रममा पसलको नाम अङकित बोर्ड राखेको नपाइएको, मुल्यसुची नराखेको, म्याद गुज्रेका सामान समेत विक्रीका लागि राखिएको पाइएको अनुगमन समितिका संयोजक पौडेलले बताउनुभयो ।
उहाँले पहिलो चरणमा सबै पसलहरुलाई साबधानी अपनाउन आग्रह मात्रै गरिएको भन्दै फेरी अर्को पटक पनि यस्तै अवस्था भए कारवाहीका लागि सिफारिस गर्ने बताउनुभयो ।
बजारमा आपूर्तिको अवस्था र कालोबजारीको अवस्थाबारे निरिक्षण गर्नका लागि अनुगमन गरिएको उहाँले प्रष्ट पार्नुभयो ।
समस्याको बेलामा आपूर्ति र कालोबजारीको अवस्थाबारे बुझ्ने प्रयास भएको बताउदै पौडेलले आपूर्तिको खासै समस्या नदेखिए पनि अन्य समस्याहरु भने रहेको बताउनुभयो ।