धीरेन्द्रप्रसाद साह
राजविराज, बैशाख १९ गते । संक्रमित जमातीको यात्रा बृतान्तको आधारमा सप्तरीमा गरिएको स्वाब संकलनमध्ये २३६ जनाको पीसीआर रिपोर्टमा कोरोना संक्रमण पाइएको छैन । उनीहरुको रिपार्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । यससँगै जिल्लामा २८३ जनाको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ भएको हो ।
यसअघि गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा विभिन्न ४७ जनाको स्वाब संकलन गरी परीक्षणका लागि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । उनीहरुको स्वाब रिपोर्ट नै नेगेटिभ प्राप्त भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिनुभयो ।
उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा कोरोना संक्रमितको यात्रा बृतान्त सप्तरीको बोदेबरसाइन नगरपालिका ५ जाँजर स्थित गत फागुन ३–५ गते आयोजित इस्लामिक धार्मिक सभा इज्तिेमासहित विभिन्न बस्तीसँग जोडिएकोले जिल्लामा ती बस्तीका ३१८ जनाको स्वाब संकलन गरी परीक्षणको लागि धरान र बिराटनगर पठाइएको थियो । तीमध्ये २३६ जनाको रिपोर्ट प्राप्त भएको जानकारी दिदै स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख दुनियालाल यादवले ८२ जनाको रिपोर्ट आउन बाँकी रहको बताउनुभयो ।
गत १३ गते शनिबार बोदेबर्साइन नगरपालिका ५ स्थित चन्द्रा नमूना माविमा १५ महिलासहित १६१ जनाको स्वाब संकलन गरेकोमध्ये सोही स्थानमा शिलाजित र हिंग बेच्न आएका जुम्लाका तीन घुमन्ते व्यापारी, बोदे बर्साइनका ११३, डाकनेश्वरीका २८, सुरुङ्गाका १२, खडक नगरपालिकाका दुई र बलान बिहुल गाउँपालिकाका तीनजना रहेको स्वास्थ्य कार्यालय, सप्तरीले जानकारी दिएको छ ।
यसैगरी गत १४ आइतबार भुल्केमा कोरोना संक्रमितको यात्रा बृतान्तसँग जोडिएको सप्तरीको कञ्चनरुप नगरपालिका स्थित बैरवामा ३१, बरमझियामा ११ जना तथा सप्तकोशी नगरपालिका स्थित फत्तेपुरमा ११५ जना गरी १५७ जनाको स्वाब संकलन गरेको थियो ।