लहान समाचारदाता
लहान,बैशाख २१ गते । न मास्क लगाउछ, न सामाजिक दुरीमा रहेर काम गर्छ । वेफिक्र भएर सार्वजनिक ठाँउमा चिया खाने र कुरा गर्ने जस्ता क्रियाकलापहरु बन्द नभएकोले बन्दाबन्दीको प्रभावकारिता ग्रामीण भेगमा नदेखिएकोले बन्दाबन्दीको पूर्ण पालना हुनुपर्ने माग हुन थालेको छ ।
उत्तरमा उदयपुर जिल्लासँग सीमाना जोडिएको र दक्षिणमा भारतको विहार मधुवनी जिल्लासँग सीमाना जोडिएको सिरहा जिल्ला उच्च जोखिममा रहेपनि ग्रामीण भेगमा बन्दाबन्दीको पालना नहुनुले चिन्तित बनाएको सखुवानन्कारकटी गाँउपालिका अध्यक्ष केदारनाथ यादवले बताउनुभयो । उहाँको अनुसार २० प्रतिशतले पनि मास्कको प्रयोग नगरी दैनिक काम गरिरहेका छन् । ग्रामीण भेगमा संक्रमण देखियो भने यसले भयावह अवस्था आउन सक्ने अध्यक्ष यादव जस्तै अन्य गाँउपालिकाका अध्यक्षहरुको पनि चिन्ता छ ।
हरेक पालिकाले वडा स्तरबाटै मास्क, सावुन, सेनिटाइजर वितरण गरेपनि त्यसलाई प्रयोग गर्ने र वानी बसाउने कार्य नभइरहेको सत्य नै हो भगवानपुर ३ का शिक्षक जागेश्वर सिंहले भन्दै सचेत शिक्षक , कर्मचारीहरुले समेत मास्क गोजीमा राख्छन तर प्रयोग नगरिरहेको बताउनुभयो ।
इलाका प्रहरी कार्यालय लहानका नाउव उपरीक्षक शरद थापा क्षेत्रीका अनुसार प्रहरीलाई देखेर भाग्ने,प्रहरी आएपछि त्यसरी नै भीडभाड गर्ने गरेकोले दिनभरि प्रहरी बन्दाबन्दीको पालना गराउन घुमिरहनु पर्ने बाध्यता छ । यत्रो जनहितमा जारी सूचनालाई वेवास्ता गरिरहेको विडम्बना हो ।
लहान नगरपालिका स्वास्थ्य शाखाका प्रमुख राम सुन्दर यादवले बन्दाबन्दीको पालना शहरी क्षेत्रमा देखिएपनि ग्रामीण भेगमा मास्कको प्रयोग नगर्नु, हाटबजार बन्द नहुनु,सामाजिक दुरीको पालना नगर्नुले जोखिमता देखिएकको प्रष्टयाउनुभयो ।