काठमाडौं, वैशाख २१ गते । वन्यजन्तु खरिद बिक्रीमा संलग्न रहेको अभियोगमा २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोलुखुम्बु महाकुलुङ गाउँपालिका–२ चंकीदह घर भई खुम्बु पासाङल्हमु गाउँपालिका–४ फोर्चे बस्ने ३५ वर्षीय रमेश राई र संखुवासभा घर भई सोलुखुम्बु खुम्बु पासाङल्हमु गाउँपालिका ४ फोर्चे बस्ने ४७ वर्षीय बिष्णु राई रहेका छन् ।
करिब चार वर्ष पहिले एक थान वन्यजन्तु कस्तुरीको बिना ५० हजार रुपैयाँमा खरिद गरी ७० हजार रुपैयाँमा बिक्री गरेको घटनाको अनुसन्धानको क्रममा ईलाका प्रहरी कार्यालय नाम्चेबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई सगरमाथा राष्ट्रिय निकुञ्जमा बुझाइने जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
मन्दिरको सामान चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
मन्दिरको सामान चोरीमा संलग्न रहेको अभियोगमा तीन जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोलुखुम्बु महाकुलुङ गाउँपालिका(२ बुङ घर भई खुम्बु पासाङल्हमु गाउँपालिका ४ पाङबोचे बस्ने २५ वर्षीय राजेश राई, भोजपुर ट्याम्केमयु गाउँपालिका घर भई सोलुखुम्बु खुम्बु पासाङल्हमु गाउँपालिका ४ दिंबोचे बस्ने ३९ वर्षीय राजेश राई र सोलुखुम्बु माहाकुलुङ गाउँपालिका२ पेल्माङ घर भई खुम्बु पासाङल्हमु गाउँपालिका(४ फोर्चे बस्ने २७ वर्षीय मदन राई रहेका छन् ।
२०७६ भदौमा सोलुखुम्बुस्थित पाङ्बोचे गुम्बाबाट पूजाका सामग्रीहरु पुरानो जाम्टा ३ जोर, पुरानो शंख २ थान, सनाही १ जोर, पुरानो काक्लिङ १ जोर, पुरानो ‘नि’ माला, नर्थ फेस टेन्ट १ थान, कम्वल ४ थान र भेटी रकम १५ हजार रुपैयाँ चोरी हुनुको साथै पुरानो मूर्ति तोडफोड भएको थियो । उक्त घटनाको अनुसन्धानको क्रममा ईलाका प्रहरी कार्यालय नाम्चेबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।