धीरेन्द्रप्रसाद साह
राजविराज, बैशाख २१ गते । कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले जारी राखेको लकडाउनको मौकाछोपी कालोबजारी भइरहेको उपभोक्ताबाट गुनासो बढेको छ । उपभोक्ताबाट यस्तो गुनासो आउन थालेपछि राजविराज नगरका खाद्यान्न पसलहरुको आइतबार संयुक्त अनुगमन गरेको छ ।
कालोबजारीलाई नियन्त्रण गर्न, सुपथ मूल्यमा उपभोग्यबस्तु खरिदबिक्री गर्न, सरल र सहज रुपमा उपभोक्ताले उपभोग गर्न पाउने उद्देश्यले राजविराज नगरका खाद्यान्न पसलहरुको अनुगमन गरेको हो । नगरभित्र महेश चामल पसल, गुप्ता किराना पसल, गंगा किराना पसल, प्रमोद किराना पसल, रमेश किराना पसल, निर्मल किराना पसल तथा मिलन डेरीमा अनुगमन गरेको छ । ती पसलहरुले खरिद गरेको थोक सामग्रीको बिल, बिक्री गर्न राखिएको मूल्यसूची, म्याद गुज्रिएका सामग्री, कोराना संक्रमणबाट बच्न अपनाइएको स्वास्थ्य सुरक्षा व्यवस्था साबुन पानी, सेनिटाइजर,
ग्लोभ लगायतमा अनुगमन केन्द्रित रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजका प्रमुख सुरेश सिंहले जानकारी दिनुभयो । पसल अनुगमनका क्रममा मूल्य सूची नराखेका पसलहरुमा अबिलम्ब उपभोक्तालाई देखिने गरी मूल्य सूची राख्न, म्याद गुज्रिएका खाद्यबस्तुलाई नष्ट गरी उचित व्यवस्थापन गर्न पहिलो पटक चेतावनी दिएको उहाँले जानकारी दिनुभयो । अर्को पटक अनुगमन गर्दा यस्तो नगरेको पाइएमा थप कडा कारबाही गरिने उहाँको कथन थियो ।
अनुगमणका क्रममा गुप्ता पसलहरुबाट म्याद गुज्रिएको बिस्कुट, मूल्यसूची नभएको पाइएको जिल्ला प्रशासनका कार्यालय सप्तरीका प्रतिनिधि प्रकाश देवकोटाले जानकारी दिनुभयो । म्याद गुज्रिएका सामानहरु बरामद गरी तत्कालै नष्ट गरिएको उहाँले बताउनुभयो ।
यता सप्तरी उद्योग बाणिज्य संघका कार्यबाहक अध्यक्ष शंकर दास, उपभोक्ता मञ्चका अध्यक्ष राजकुमार गुप्ता, सञ्चारकर्मीसहितको संयुक्त अनुगमन टोलीले राजविराज नगरका खाद्यान्न पसलमा अनुगमन सुरु गरेपछि कालोबजारी, म्याद गुज्रेको सामग्री बिक्री गर्दै आएका र अवैद्य रुपमा खोलिएका पसलहरु बन्द गरी सञ्चालकहरुको भागाभाग भएका थिए ।
यता वर्षमा दुई÷तीन पटक गरिने बजार अनुगमनमा संयुक्त अनुगमन टोलीले जस्तोसुकै कमजोरी फेला पारेपनि सुधार गर्नु भन्दै फर्कने गरेको छ । कारबाही नै नगरिएपछि सोही प्रकारका गल्ती बारम्बार दोहोरिने र त्यसको मार उपभोक्ताले खेप्नु परिरहेको नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली बताउनुहुन्छ । बजारमा म्याद गुज्रेको खाद्यवस्तु नबेच्ने पसल पाउन गाह्रो छ, उहाँले भन्नुभयो, टोलीले गरेको अनुगमनको कुनै प्रभाव देखिएको छैन ।
बजार अनुगमन टोली निस्किएपछि कतिपय व्यापारीहरुको भागदौड मच्चिने गरेपनि त्यस्ता व्यापारीलाई नियन्त्रणमा लिने वा कारबाहीको दायरामा ल्याउने विषयमा कहिल्यै पहल नभएको उहाँको कथन छ । राजविराज–७ का उपभोक्ता डोमन साहले बजारमा रहेका औषधि पसलले समेत म्याद गुज्रेका औषधि बिक्री गर्छन् । तर, त्यस बारेमा जानकारी भएरपनि कारबाही गर्ने निकाय मौनछ भन्नुभयो ।
जिल्लाको राजविराजसहित पातो, कल्याणपुर, कठौना, कञ्चनपुर, फत्तेपुर, हनुमाननगर, मधुपट्टी, कुशाहा, मौवाहालगायतका सहर तथा ग्रामीण बजारमा म्याद गुज्रेका खाद्यवस्तु, मूल्य भन्दा बढीमा सामग्री बिक्री भइरहेको व्यापक गुनासो आउने गरेको सप्तरी उद्योग बाणिज्य संघका काबा अध्यक्ष शंकार दासले बताउनुभयो । लकडाउनको मौका छोपेर निर्धारित मूल्यभन्दा दोब्बरसम्म मूल्य लिएर समान खरिद बिक्री भइरहेको स्थानीयले गुनासो गरिरहेको उहाँले बताउनुभयो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजका प्रमुख सुरेश सिंहले अनुगमन निरन्तर चलिरहेको बताउनुभयो ।