भवानी ऐर
धनगढी, वैशाख २१ गते । सुदूरपश्चिम प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस (कोभिड–१९) जोखिम नियन्त्रण तथा व्यवस्थापन कोषबाट हालसम्म ३२ करोड १२ लाख रकम खर्च गरेको छ । स्वास्थ्य सामग्री खरिददेखि राहतकालागि स्थानीय तहमार्फत समस्यामा परेका नागरिकलाई राहत दिन सो रकम खर्च भएको प्रदेश सरकारले जनाएको छ ।
४० करोड सकम राखेर प्रदेश सरकारले स्थापना गरेको उक्त कोषमा विभिन्न बैंक, वित्तीय संस्था, व्यवसायी तथा निजी क्षेत्रबाट समेत नगद २ करोड ३५ लाख तथा खाद्यान्न सहयोग भएको थियो । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार हालसम्म १५ करोड २६ लाख रकम राहतकालागि स्थानीय तहहरुलाई दिइसकेको छ । यस्तै भेन्टिलेटर लगायत अन्य स्वास्थ्य सामग्री खरिदकालागि १५ करोड बढी रकम सामाजिक बिकास मन्त्रालयलाई दिइएको छ ।
प्रदेशको शान्ति सुरक्षा मजबुद बनाउनका लागि प्रदेका ९ वटै जिल्ला प्रशासन कार्यालय, प्रदेश प्रहरी कार्यालय, नेपाली सेना तथा सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान बिभागलाई आवश्यक रकम सहयोग गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले बताउनुभयो । उहाँले दातृ संघसंस्थावा प्रप्त खाद्यान्न लगायतका स्वास्थ्य सामाग्री पनि स्थानीय तहमार्फत वितरण गरिएको बताउनुभयो ।
यता स्थानीय तहहरुले प्रदेश सरकारबाट प्राप्त भएको राहत तथा विभिन्न निकायबाट सहयोग भएको रकम, खाद्यान्न तथा स्वास्थ्य सामग्रहरु वितरण गर्ने कार्य जारी राखेका छन् । यसैवीच लकडाउनका कारण बन्द रहेका धनगढीका पेट्रोल पम्प आइतवारदेखि सञ्चालनमा आएका छन् । इन्धनको माग बढ्दै आएपछि कैलाली उधोग बाणिज्य संघले स्थानीय प्रशासनसँगको समन्वय गरेर सेवा सुचारु गरेको हो ।
धनगढी डिपोमा इन्धनको पर्याप्त मौज्दात भएपनि पम्पहरुले सेवा नदिएको गुनासो बढ्दै गएपछि प्रशासनसँगको छलफलपछि स्वास्थ्य सुरक्षाका उपयाहरु अपनाएर पम्प सञ्चालनमा ल्याएको कैलाली उद्योग वाणिज्य संघका सदस्य मनोज अग्रवालले जानकारी दिनुभयो । लकडानमा पनि समय मिलाएर केहीले इन्धन विक्री वितरण गरिरहेको भन्दै उहाँले अव पूर्णरुपमै सेवा सुचारु गर्न आग्रह गरेको बताउनुभयो ।
पेट्रोलिमय पदार्थ डिलर्स एसोसियसनका अध्यक्ष चक्र मल्लले पनि पम्प सञ्चालनमा आइसकेको बताउनुभयो । यसअघि पेट्रोल पम्पहरुले बिक्रि वितरण नगर्दा अत्यावश्यक सेवासमेत प्रभावित भएको थियो । विगत तीन सातादेखि कोरोना भाइरसको संक्रमण सुदूरपश्चिम प्रदेशमा स्थिर रहेकोले अवस्थाले राष्ट्रिय गौरवका योजनाहरु, धनगढी–अत्तरिया छ लेन सडक, कञ्चनपुरको राजघाट विचवा जोड्ने मोहनापुल निर्माणको काम सञ्चालनमा ल्याइएका छन् ।
यता प्रदेश सरकारले पनि विभिन्न आयोजनाहरु सुचारु गर्ने प्रक्रिया मिलाइरहेको सुदूरपश्चिम प्रदेशका भौतिक योजना विकासमन्त्री पठानसिंह बोहराले बताउनुभएको छ ।