सन्तोष सुवेदी
सिरहा, वैशाख २१ गते । कोभिड–१९ को संक्रमणबाट जोगाउन सरकारले वन्दावन्दी जारी गरेकै बेला लहानको उत्तरी भेगका केही खोलानालाबाट गिट्टीढुङ्गाको अवैध उत्खनन गरिदै आएको छ ।
गिट्टीढुङ्गा उत्खनन्कर्ताहरुले लहानको उत्तरतर्फ रहेको खुट्टी, झिरहरी तथा बलान खोलाबाट रातको समयमा स्काइभेटर नै प्रयोग गरेर गिट्टीढुङ्गा उत्खनन् गर्ने गरेका छन् । उत्खनन् गरिएका गिट्टीढुङ्गा टिपर र ट्रयाक्टरबाट निर्धारित स्थानमा पु¥याएर खसाउने गरिएको छ ।
खोलाबाट उत्खनन् गरिएका गिट्टीढुङ्गा रातको समयदेखि विहान १० बजेसम्म तस्करहरुले ओसारपोसार गर्ने गरेको पाइएको छ । खोलामा लिन गएका गिट्टीढुङ्गाका टिपर तथा ट्रयाक्टरहरु प्रहरीकै घुमुवाहरुले देखाएको बाटो प्रयोग गरेर निर्धारित स्थानसम्म पु¥याउने गरिएको छ । ‘सबै ट्रयाक्टर र टिपरलाई गिट्टीढुङ्गा ढुवानी गर्न अनुमति छैन’, नाम बताउन नचाहने एक ट्रयाक्टर चालकले भन्नुभयो–प्रहरीसँग सेटिङ्ग मिलाएका ट्रिपर र ट्रयाक्टरलाई मात्र खोलामा उत्खनन् गरिएका गिट्टीढुङ्गा ओसारपोसार गर्न दिइन्छ ।
‘अहिलेको वन्दावन्दीको समयमा कुनैपनि खोलानालाबाट गिट्टीढुङ्गा उत्खनन् र ढुवानी गर्न पाइदैन’, जिल्ला वन डिभिजन कार्यालयका प्रमख सुभाषचन्द्र दासले भन्नुभयो–यदि कसैले त्यसरी उत्खनन् र ढुवानी गरेका त्यो सोझै सजायको भागिदारी हुन्छ ।
वन्दावन्दीको सुरुवातीको क्रममा लहान प्रहरीले केही ट्रयाक्टर पक्राऊ नगरेको होइन, त्यसरी पक्राऊ गरिएका ट्रयाक्टरलाई स्थानीय तहमा बुझाउनुपर्ने प्रावधान अनुसार लहान नगरपालिकालाई बुझाइदा नगरपालिकाले जरिवाना लिएर ट्रयाक्टरलाई लोड गरिएको गिट्टीढुङ्गा सहित छोड्न थालेपछि लहान प्रहरीले त्यतातिर ध्यान दिन नै छोडेको बताइन्छ ।
‘कुनै कुनै आयोजनाको लागि प्रमुख जिल्ला अधिकारीले कसै कसैलाई गिट्टीढुङ्गा उत्खनन् र ढुवानी गर्न इजाजत दिन सक्ने प्रावधान छ तर हामीनिर त्यस्तो स्वीकृति प्राप्त गरेका कोही पनि आएका छैनन्’, इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक शरद थापा क्षेत्रीले भन्नुभयो–केही दिन अगाडि गिट्टीढुङ्गाको अवैध उत्खनन् र ओसारपोसारमा संलग्न ट्रयाक्टरलाई पक्राऊ गरेर मैले आफैंले कारबाही चलाएको हुँ, अहिले त त्यस्तो छैन ।