सिराज खान
नेपालगञ्ज, बैशाख २१ गते । कोहलपुरमा नेपाली सेनाको गाडी र मोटरसाइकल ठोक्किएर शनिबार बेलुका भएको दुर्घटनामा गम्भीर घाईते हुनु भएकी प्रतिक्षा भुषाललाई थप उपचारकालागि काठमाण्डौं लगिएको छ ।
भुषाललाई नेपाली सेनाको हेलिकप्टरबाट आईतबार काठमाण्डौं लगिएको हो । दुर्घटनामा परेर गम्भीर घाइते हुनुभएकी भुषालको कोहलपुरमा उपचार सम्भव नभएपछि काठमाण्डौं रिफर गरिएको थियो । सोही कारणले उहाँलाई सेनाकै हेलिकोप्टरबाट आइतवार काठमाण्डौस्थित सेनाको छाउनी अस्पतालमा लगिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । घाइतेलाई लिनका लागि सेनाको हेलिकोप्टरबाट सेनाका चिकित्सक डा. बसन्त रिजालको नेतृत्वमा तीन सदस्यीय स्वास्थ्यकर्मीको टोली नेपालगञ्ज आएको बाँकेका प्रहरी प्रमुख एसपी वीर बहादुर ओलीले बताउनुु भयो ।
कोहलपुर नगरपालिका ११ एनटिभि चोकमा नेपाली सेनाको गाडीले शनिवार बेलुका ठक्कर दिदा कोहलपुर नगरपालिका २ का २४ वर्षिय किरण भुषालको घट्नास्थलमै मृत्यु भएको थियो भने प्रतिक्षा भुषाल गम्भीर घाइते भएकी थिइन् । दुर्घटनामा परेका किरण र प्रतिक्षा दिदि भाइ हुन ।
घाईते र मृतक दुबै नेकपा बाँकेका जिल्ला सदस्य खिलप्रसाद भुषालका भतिजि र भतिजा हुन । घाइते प्रतिक्षाको ३ महिने बच्चा रहेको जनाउँदै सो बच्चालाई पनि काठमाण्डौ पठाईएको उनका काका खिल प्रसाद भुषालले बताउनु भयो ।
नेपालगञ्जबाट कोहलपुतर्फ आउँदै गरेको नेपाली सेनाको बा २ झ ६३४१ नम्बरको गाडीसंग भे ४ प ७६२० नम्बरको मोटरसाईकल शनिबार बेलुका कोहलपुरको एनटिभि चोकमा ठोक्किएको थियो । दुर्घटना भएलगत्तै घट्नास्थलमा पुगेको प्रहरीको टोलीले गाडी चालक र सेनाको गाडीलाई नियन्त्रणमा लिएको थियो ।
दुर्घटनामा परी मृत्यु भएका किरण भुषालको आइतवार अन्तेष्टी गरिएको परिवारले जनाएको छ । लकडाउनको समयमा सडक सुनसान भएको बेलामा पनि कोहलपुरमा पटक पटक दुर्घटना हुने गरेकोमा स्थानीयले प्रहरी प्रशासनको ध्यानाकृष्ट गराएका छन् । सडक सुनसान भएको बेलामा अत्याधिक गतिले गाडी चलाएको कारण दुर्घटना भएको स्थानीयको भनाई छ ।